Wednesday, January 29, 2014

सहरमा जहर

सहरमा जहर

  • आमउपभोक्ताको स्वास्थ्य जोखिममा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०६९/७० मा ३ हजार २ सय ४४ खाद्यवस्तुको नमुना परीक्षण र १ हजार ४ सय ६८ पटक खाद्य उद्योगको उत्पादन स्वच्छता निरीक्षण गर्‍यो। त्यसबाट प्रशोधित पिउने पानी, दूध तथा दूधजन्य पदार्थ, खाने तेल, दाल, मसलाजन्य पदार्थमै अखाद्य मिसावट भेटियो। दूध, पानी, तेललगायत विभिन्न ४६ उद्योगमाथि मुद्दा दायर पनि भयो। गत भदौमा मात्रै विभागले थप २० उद्योगविरुद्ध मुद्दा दायर गरेको छ।

दसैँ-तिहारजस्ता ठूला चाड नजिकिँदै जाँदा आमउपभोक्ताको स्वास्थ्यमा भइरहेको खेलबाड र हेलचेक्र्याइँ बताउन यिनै विवरण पर्याप्त छन्। यसले चाडपर्वको खानपान जोखिमपूर्ण हुने संकेत त गरेको छ नै, बजारमा उपलब्ध खाद्यवस्तु स्वास्थ्यकर छ वा छैन भन्ने यकिन गर्नसमेत कठिन भएको छ।

सरकारी निकायहरूले नियमित अनुगमनको प्रचार गरे पनि आमउपभोक्ता भगवान् भरोसा भन्दै बजारबाट अत्यावश्यक वस्तु खरदि गरी गर्जो टार्नुपर्ने बाध्यतामा छन्। केमा छैन मिसावट? ढुंगाका टुक्रादेखि काठको धूलो, हानिकारक रंग, विषाक्त रसायनसम्म मिसावट हुने गरेको छ, खाद्यवस्तुमा। बजारमा बेच्न राखिएका ताजा देखिने हरियो तरकारीमा विषादीको मात्रा भेटिनु सामान्य नै भइसकेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामा भन्छिन्, "व्यवसायी, उपभोक्ता र नियमनकारी निकायबीच सहकार्य नभई अनुगमनले मात्र अवस्था सुधि्रनेवाला छैन। यी तीन पक्षबीच एउटा गोल्डन ट्रयांगल बनाउनु जरुरी छ।"

पूर्वाञ्चल विश्वविद्यालयकी छात्रा प्रतीक्षा श्रेष्ठको एक शोधमा राजधानीको मनोहरा खोलाको पानीमा पखालेर बेचिने गाँजर र सलाद पत्तामा अत्यधिक मात्रामा कोलिर्फम भेटिएको थियो। त्यस्ता तरकारीलाई क्लोरनि पानीले सफा गरी त्यसपछि सफा पानीले धुनुपर्ने खाद्य प्रविधि तथा गुणस्तर विभागका वरिष्ठ खाद्य वैज्ञानिक कृष्ण राई बताउँछन्। भन्छन्, "त्यसो नगरी खाए पखाला लाग्ने र पाचनसम्बन्धी समस्या देखिन सक्छ।"

बिहानको चियादेखि सबैभन्दा बढी खपत गरिने पानीसम्म विषाक्त र दूषित छन्। नेपाल कृषि अनुसन्धान परिषद् -नार्क)ले झापाका १० गाविसका २१ चिया बगानमा अध्ययन गर्दा १ सय २५ वटा नमुनामध्ये १ सय ७ मा एसेटाइल क्लोरनि इस्टरेज इनहिसिन विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम, १९ वटामा ३५-४५ प्रतिशत र चारवटामा ४५ प्रतिशतभन्दा माथि रहेको भट्यो।

विषादी अवशेष -अंश) ३५ प्रतिशतभन्दा माथि रहनु मानव स्वास्थ्यका लागि प्रतिकूल मानिन्छ। यसका कारण बान्ता हुने, तौल कम हुने, टाउको दुख्नेजस्ता समस्या देखिनुका साथै शरीरका मांसपेशी र स्नायु प्रणालीबीचको सम्बन्ध तोड्ने जोखिम रहन्छ।

आँप, भुइँकटहर, मेवा, केराजस्ता 'क्लाइमेक्टोरकि फुड' अर्थात् टिपेपछि पनि पाक्दै जाने फलफूलमा छिटो पकाउन क्याल्सियम कार्बाइडको प्रयोग हुन्छ। तर, ती फलहरू ताछेर खाएको खण्डमा कार्बाइडको असर नगन्य हुन जान्छ। बजारमा पाइने फलफूललाई राम्रोसँग नियाल्ने हो भने कार्बाइड प्रयोग छ कि छैन भन्ने थाहा हुन्छ। जस्तो ः आँपको भेट्नो अप्राकृतिक ढंगले कालो, सबैतिर पहेँलो, पाकेको जस्तो लागे पनि छाम्दा साह्रो र प्राकृतिक गन्ध छैन भने कार्बाइडबाट पकाइएको पुष्टि हुन्छ।

खाद्य वैज्ञानिक हरहिर गुरागाईंका अनुसार फलफूलमा पछिल्लो समयमा सबैभन्दा बढी जोखिम अंगुरमा छ। अंगुरमा ढुसी हटाउनका निम्ति कीराफट्यांग्रा मार्न प्रयोग हुने बीएचसी पाउडर हालिएको हुन्छ। त्यस्ता अंगुर हल्का सेतो र फुस्रो हुन्छ। यो त्यस्तो विषादी हो, जसले श्वासप्रश्वासमा सीधै असर गर्छ। मकै, चामल र बदामजस्ता वस्तुमा विषादीको अंश नदेखिए पनि तिनमा लाग्ने ढुसीमा रहने अफ्लाटक्सिन एस्परजिलस जीवाणुका कारण हेपाटाइटिस र क्यान्सरजस्ता रोगको जोखिम उच्च हुन्छ।

अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयको एक अध्ययनमा दक्षिण एसियाली मुलुकहरूमा कलेजोको क्यान्सर देखिनुमा बदाम र मकैमा लाग्ने ढुसीबाट निस्कने प्राकृतिक विष अफ्लाटक्सिनलाई नै प्रमुख कारण औँल्याइएको छ। अफ्लाटक्सिन भएको दाना खाने कुखुरा, खसी र राँगाको मासु खाने व्यक्तिमा पनि त्यो विष प्रवाह हुन्छ।

अन्नबाट अफ्लाटक्सिन विष पशुको शरीरभित्र जान्छ भने त्यो जीवाणु एम-१ र एम-२ मा बदलिएर मासुमा बस्छ। र, मासु खाने व्यक्तिको शरीरमा प्रवेश गर्छ। हुँदाहुँदा दूधलाई पनि त्यसले संक्रमित पार्छ। यो जीवाणु तताएर र चिस्याएर मर्दैन। यसबाट बच्ने उपाय भनेको खाद्य वस्तुमा ढुसी लाग्नै नदिनु मात्रै हो।

नार्ककै अध्ययनले गहुँमा विषादीको प्रभाव नगन्य देखिए पनि तरकारी, चिया र कपासमा बढी रहेको देखाएको छ। १३ वटा तरकारीको नमुना परीक्षण गर्दा १० वटामा ३५ प्रतिशतभन्दा कम र तीनवटामा ३५-४५ प्रतिशत विषादी पाइएको छ भने करेला र भ्यान्टामा ३५-४५ प्रतिशत।

काउली, साग, मूला, काँक्रो, करेला, गोलभेँडा, भ्यान्टाजस्ता बेमौसमी तरकारीमा विषादीको प्रयोग बढी भेटिएको छ। राम्ररी नपखालिएका सागपात र सलाद खाँदा मानव स्वास्थ्यमा तत्काल असर पर्ने जोखिम रहन्छ। विभागकी महानिर्देशक लामा भन्छिन्, "म पनि बाहिर गएका बेला जहाँ पायो त्यहाँको सलाद खाँदिनँ। अन्य खाद्यवस्तु पनि राम्ररी हेरी ढुक्क भएर मात्र किन्छु।"

नियमनकारी निकायकै प्रमुखको यस्तो स्वीकारोक्तिले बजारमा उपभोग्य वस्तुका गुणस्तरको सबै 'प्यारामिटर' उल्लंघन भएको छर्लंग हुन्छ। मिठाईमा पनि अखाद्य रंग मिसाउने गरिएको अनुगमनका क्रममा फेला परेको छ। त्यस्ता रंगले क्यान्सरजस्ता रोग निम्त्याउँछन्। गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईको भनाइमा अनुगमन र नियमनको क्षेत्राधिकार प्रस्ट नहुँदा पनि बजारमा अराजकता बढेको हो। भन्छन्, "उद्योग-धन्दाको अवस्था कमजोर भएको हाम्रोजस्तो मुलुकमा सबैप्रति एउटै दृष्टिकोण बनाउन मिल्दैन। सबै मिठाई पसले, सबै मासु पसले उस्तै भनेर बिल्ला भिराउने काम भएको छ। समस्या पहिचान गर्ने मात्र नभई समाधानतर्फ पनि गम्भीर हुनुपर्छ।"

राजधानीमा मात्र दैनिक तीन लाख किलोभन्दा बढी कुखुराको मासु खपत हुन्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनमा कुखुराको मासुमा टेट्रासाइक्लिन, पेन्सिलिन र सल्फोनामाइडजस्ता एन्टिबायोटिकको अवशेष भेटिएको छ। यसबाहेक आकार बढाउन कुखुरालाई हर्मोनयुक्त दाना र सुई दिने चलन छ। त्यसै पनि अन्य पशुपन्छीको तुलनामा कुखुरामा रोग लाग्ने सम्भावना बढी हुन्छ। व्यवसायीहरू त बर्डफ्लुले संक्रमित कुखुरासमेत रातारात बेच्न पछि पर्दैनन्।

खसी र राँगाको मासु पूरै स्वास्थ्यकर छ भनेर ढुक्क हुने अवस्था पनि छैन। काठमाडौँ भित्रिने खसी र राँगाको खासै परीक्षण हुँदैन। छिप्पिएका र बूढा राँगालाई क्षयरोग -टीबी) भएको हुन सक्छ। त्यसै गरी दसैँमा हिमाली भेगबाट भित्र्याइने अधिकांश च्यांग्रा भारी बोकेर काम नलाग्ने भएपछि मात्र बेच्नका लागि पठाइन्छन्। टीबी लागेका जनावरका मासु राम्रोसँग पकाइएन भने खाने मान्छेलाई रोग सर्ने जोखिम रहन्छ।

वरिष्ठ कृषि वैज्ञानिक श्रीराम न्यौपानेका अनुसार मासुजन्य पदार्थलाई कम्तीमा सय डिग्री तापक्रममा पकाउनुपर्छ। भन्छन्, "बंगुरको मासुमा फित्ते जुका हुन्छ, त्यसलाई उच्च तापक्रममा भन्दा पनि प्रेसर कुकरमा पकाउनुपर्छ।" ब्याक्टेरिया भने चिसो र तातो दुवैमा हुर्कने खालका हुन्छन्। विकसित मुलुकमा फ्रोजन मासु खाने प्रचलन त्यसै कारण सुरु भएको हो। भन्छन्, "एकपटक डिप फ्रिजबाट निकालिएको मासुलाई फेरि फ्रिजमा राख्नु झन् खतरनाक हुन सक्छ।"

आमउपभोक्ता विशेष गरी पशुबाट मान्छेमा सर्न सक्ने 'जुनेटिक' रोगबाट सचेत रहनुपर्ने विशेषज्ञहरू बताउँछन्। रेबिज, टीबी, फ्लु, सालमोनेलाजस्ता रोग पशुपन्छीबाट सहजै सर्न सक्छन्। तर, नेपालमा यससम्बन्धमा प्रस्ट नीति छैन।

आवश्यकता र महत्त्वका हिसाबले पानी नै जीवन हो। तर, त्यही पानी पनि शुद्ध भेट्न मुस्किल छ। चिकित्सकहरू एक वयस्क व्यक्तिले दैनिक कम्तीमा दुई लिटर पानी पिउनुपर्ने सल्लाह दिन्छन्। र, अधिकांश रोगको निदान पानीबाटै हुने बताउँछन्। तर, खानेपानी संस्थानको धारा होस् वा बजारका मिनरल वाटर, ढुक्क भएर पिउने अवस्था छैन।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष ०६८/६९ मा ३ सय ३१ प्रशोधित पानीको नमुना परीक्षण गर्दा १ सय १३ वटा न्यून गुणस्तरका थिए। त्यसै गरी ७० वटा धाराको पानी परीक्षण गर्दा ३८ नमुना पिउन अयोग्य भेटिए। सूक्ष्म जीवाणुको परीक्षण गर्दा ३ सय ९२ नमुनामध्ये १ सय ५३ वटामा विभिन्न रोगका जीवाणु भेटिए।

गत वर्ष मिसावट र गुणस्तर नपुगेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाहीका लागि मुद्दा दायर गरेका ४६ उद्योगमध्ये १९ वटा त प्रशोधित पानी बेच्ने नै थिए। स्वच्छ पानीका लागि क्रियाशील अन्तर्राष्ट्रिय संस्था वाटर एड नेपालका प्रमुख आशुतोष तिवारी भन्छन्, "पानी आपूर्ति गर्ने थुप्रै छन् तर गुणस्तर कसले हेर्ने भन्ने प्रस्ट छैन। महामारी फैलिएको खण्डमा त्यसको जिम्मेवारी कसले लिने ?"

उपभोक्ताहरू पनि रोग लागेपछि जति पनि खर्च गर्न तयार हुन्छन् तर रोगै लाग्न नदिन के गर्ने भन्नेमा प्रस्ट छैनन्। पानीलाई कम्तीमा पाँच मिनेट उमालेको खण्डमा प्रायः किटाणु नष्ट हुन्छन्। तर, आर्सेनिक र क्याडमियमजस्ता रसायन भने नष्ट हुँदैनन्। अशुद्ध पानी पिउनाले झाडापखाला लाग्नुका साथै कालान्तरमा मिर्गौलामा समस्या देखिने जोखिम हुन्छ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले अखाद्य खनिज भएको पानी नियमित पिउँदा मिर्गौलामा असर पुग्ने बताउँछन्। भन्छन्, "स्वस्थ रहन हामी दैनिक रूपमा कम्तीमा दुई लिटर शुद्ध पानी पिउन भन्छौँ। तर, हामी शुद्ध खानेकुरा खाने बानी बसालौँ र आफ्नो ज्यानको सुरक्षा आफैँ गरौँ मात्र भन्न सक्ने अवस्थामा छौँ।" पछिल्ला वर्षमा मिर्गौला रोगीहरूको संख्या उल्लेख्य बढ्नुका पछाडि जीवनशैली र अशुद्ध खानपान जिम्मेवार रहेको डा काफ्लेको भनाइ छ।

आमउपभोक्ताको स्वास्थ्यमाथिको खेलबाड यतिमै सीमित छैन। दाललाई अप्राकृतिक पोलिस गर्ने, चामलमा ढुंगा, मसलामा अखाद्य पाउडर, स्याउलाई चम्काउन अप्राकृतिक मैन, मिठाईमा हानिकारक रंग मिसाएर बिक्री गर्नु हाम्रो बजारमा सामान्य हो। पेट तथा पाचन रोग विशेषज्ञ डा दिनेशचन्द्र पोखरेल भन्छन्, "एउटा साङ्लो नै बनेको छ मिसावटको। तर, यसको असर त १० वर्षपछि देखिनेछ।" खाद्य वस्तुमा बढ्दो विषाक्तता र मिसावटकै कारण पछिल्लो समय पार्किन्सन्स, शीघ्र बुढ्यौली, हर्मोनका समस्या र मानिसक रोग देखिन थालेको डा पोखरेलको दाबी छ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन मिसावट केमा छ भन्दा पनि केमा छैन भन्ने अवस्था भएको बताउँछन्। भन्छन्, "पहिलो कुरा त मूल्यमा व्यापक ठगी छ। दोस्रो भनेको गुणस्तरमा कहालीलाग्दो लापरबाही।" उपभोक्ता आफैँ सचेत नभएसम्म बजारमा अराजकता तत्काल कम हुने अवस्था छैन। महर्जन थप्छन्, "उपभोक्ता सचेत हुने हो भने ठगी गर्ने व्यवसायीका उत्पादन बजारबाटै बहिष्कार गर्न सकिन्छ।"



मिसावट र असर



दूध र दूधजन्य पदार्थ

कैफियत ः फोहर पानी, कास्टिक सोडा, एन्टिबायोटिक्स, विषादी र हर्मोनको अवशेष

असर ः झाडापखाला, क्यान्सर, दृष्टि कमजोर, रुघा, स्नायुप्रणालीमा असर

पानी

कैफियत ः जीवाणु, हानिकारक खनिज, क्लोरिन, विषादी

असर ः झाडापखाला, हैजा, कलेजो र मिर्गौलामा असर, छालाको क्यान्सर, उच्च रक्तचाप

दाल

कैफियत ः खेसरीको दाल, अप्राकृतिक मैन -पालिस)

असर ः खेसरीको दालमा पाइने बेटा अक्सिललानिनले प्यारालाइसिससम्म हुन सक्छ र क्यान्सर

चामल

कैफियत ः ढुंगाको टुक्रा, विषादीको अवशेष

असर ः दाँत र पाचन प्रणालीमा असर, आन्तरिक अंगहरूमा क्यान्सरको जोखिम

मासु र मासुजन्य पदार्थ

कैफियत ः इकोली, हर्मोन, एन्टिबायोटिक्सको अवशेष, विषादी, अखाद्य खनिज, प्याथोजन्स

असर ः पाचन प्रणालीमा गडबडी, अपच, कलेजो खराब, हर्मोन असन्तुलन, क्यान्सर

फलफूल

कैफियत ः विषादी, हेभी मेटल्स, कार्बाइड, बीएचसी पाउडर

असर ः क्यान्सर, चक्कर आउने, दृष्टि कमजोर हुने, उच्च रक्तचाप

तरकारी

कैफियत ः अखाद्य रंग, विषादीको अवशेष

असर ः क्यान्सर, छालाको समस्या

खाने तेल

कैफियत ः एर्जेमोन बीउ, खनिज तेल, फोहोर तेल

असर ः मिर्गौलामा असर, भिटामिनको कमी, स्नायु प्रणालीमा असर

मिठाई

कैफियत ः अखाद्य रंग र धातु

असर ः क्यान्सर, कलेजो बिग्रने, पेटको गडबडी



विषादी नै विषादी

गत आर्थिक वर्षमा चामल, पीठो, चिउरा, पाउरोटी, दाल, गेडागुडी र तरकारीका विभिन्न २५ जिल्लाबाट संकलित १ सय २५ नमुना परीक्षण गर्दा ९० प्रतिशतभन्दा बढीमा साइपरमेथि्रन विषादीको अवशेष भेट्यो, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले। प्याराथियोन मिथाइल र क्लोरपाइरपिmस विषादी पनि भेटिएको थियो, ती खाद्यवस्तुमा। सागमा सबैभन्दा बढी विषादीको अंश रहेको अध्ययनले देखाएको थियो। केहीमा त प्रतिबन्धित विषादीसमेत फेला परेका थिए।

मासुका ५० वटा नमुना परीक्षण गर्दा १० वटामा एन्टिबायोटिक्सको अवशेष भेटिएको थियो। टेट्रासाइक्लिन, क्याक्रोडिल्स, एमिनो ग्लाइकोसाइड्स, सल्फोनामाइड र पेन्सिलिनलगायत एन्टिबायोटिक पहिचान भएका थिए। पाँचवटा नमुनामा अधिकतम अवशेष सीमा -एमआरएल)भन्दा बढी एन्टिबायोटिक प्रयोग भएका थिए। काठमाडौँ उपत्यकाका तीनै जिल्लाबाट संकलित खाद्यवस्तुका केही नमुना परीक्षण गर्दा ती सबैमा विषादी प्रदूषण पाइएको थियो।

स्रोत ः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग



कस्तो छ तपाईंको भान्सा ?

दूषित खाद्य तथा पेय पदार्थले गर्दा विश्वभरि नै रोग र मृत्युदर बढ्दै छ। एक अध्ययनका अनुसार नेपालमा वाषिर्क १८ हजार २ सय ४० जनाले झाडापखालाबाट ज्यान गुमाउँछन्।

सामान्यतः खानेकुरा राख्ने भाँडालाई समय-समयमा सफा गरेर सुक्खा राख्ने र भान्साको फोहरलाई दैनिक बाहिर निकाल्ने हो भने विभिन्न खालका संक्रमणबाट बच्न सकिन्छ। तरकारीलाई राम्ररी सफा पानी प्रयोग गरेर पखाल्ने, काँचो खानेकुरा र पाकेको खानेकुरा छुट्याएर राख्ने, पकाएको खानेकुरालाई राम्रोसँग छोप्ने, काँचो तरकारी वा मासुजन्य पदार्थ काट्नुअघि र काटिसकेपछि त्यसका लागि प्रयोग भएका औजारहरूलाई राम्रोसँग धुने, सलादको रूपमा काँचो तरकारी खानुपरेमा राम्रोसँग पखालेर ताछ्ने र पिउने पानी सधँै छोपेर राख्ने बानी बसाल्नु जरुरी छ।

दिसापिसाबमा पाइने कोलिर्फम बाथरुमभन्दा बढी भान्सामा हुन्छ भन्ने तथ्य हामीलाई थाहा नहुन सक्छ। त्यही भएर भान्साको सरसफाइ र व्यक्तिगत सरसफाइमा विशेष ध्यान पुर्‍याउनु जरुरी छ।

- प्रवीण ओझा, ओझा खाद्य वैज्ञानिक हुन् ।)



'आलीदेखि थालीसम्म'

वास्तविक समस्या कहाँ छ ?

विशेष गरी नगरउन्मुख क्षेत्र र तराईका सहरहरूमा अखाद्य रंगको प्रयोग अत्यधिक छ। त्यसमा पनि चाडपर्वमा बेचिने मिठाईहरूमा अवस्था भयावह छ। त्यसै गरी साना सहर र छेउछाउका क्षेत्रमा मिति नाघेका खानेकुरा बढी भेटिएको छ। उपहार योजनाको लोभमा विक्रेताहरूले चाहिनेभन्दा बढी सामान भण्डार गर्ने र पछि बिक्री नहुने समस्या देखिएको छ। आयात भएका वस्तुहरूमा पनि लेबल नभएका, भाषा नमिलेका र मिति गुज्रेका सामान आउने गरेका छन्।

विभागले अनुगमन गर्दै जाने, व्यवसायीहरू नसुधि्रने प्रवृत्ति कहिलेसम्म त ?

व्यवसायीहरूको कुरा गर्दा कतिपयले जानेर र केहीले नजानेर जनस्वास्थ्यसँग खेलबाड गररिहेका छन्। हामी त समस्या देखियो कि मुद्दा दायर गरिहाल्छौँ। हाम्रो सूचना प्रणालीमा केही कमजोरी भएको हुन सक्छ। दूधमा कोलिर्फम देखिँदा बजारबाटै फिर्ता गर्ने अभ्यास सुरु गरसिकेका छौँ।

उपभोक्ता पनि जिम्मेवार छैनन् र ?

म आफैँ पनि दैनिक उपभोग्य वस्तु प्रयोग गर्नुअघि त्यसको लेबल र उल्लेख गरिएका जानकारी हेर्छु। उत्पादनदेखि उपभोगसम्मको चक्र नै असुरक्षित छ। दूध र पानीको त लेबल हेर्नैपर्छ।

अनुगमन मात्रै समाधान हो त ?

खाद्य गुणस्तरमा गम्भीर हुनुपर्ने बेला भइसकेको छ। सरकारी निकायबीच नै समन्वय छैन। 'फार्म टू फोर्क' अर्थात् आलीदेखि थालीसम्मको खाद्य चेन स्वस्थ हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ। नियामक निकाय, व्यवसायी र उपभोक्ताबीच एक किसिमको गोल्डन ट्रयांगल भएको खण्डमा मात्र बजार स्वस्थ बन्न सक्छ।

तर, विभागकै क्षमतामाथि प्रश्न उठेको छ नि ?

खाद्य प्रयोगशाला त अन्तर्राष्ट्रिय स्तरकै छ। राजमार्गका चमेनागृहहरूलाई गुणस्तर र सुविधा हेरेर वर्गीकरण गर्दै छौँ। दूध र पानीका सम्बन्धमा थप कडाइ गर्दै जाने सोच छ। काठमाडौँमा ४० लाख जनसंख्याका लागि जम्मा ६ जना र देशभर ३५ जना खाद्य निरीक्षक छन्। अन्तर्राष्ट्रिय मापदण्ड त एउटा उद्योग बराबर एक निरीक्षक हो।

सरकारी निकायहरूबीच समन्वय अभाव किन ?

मुख्यतः क्षेत्राधिकारको समस्या हो। त्यसका लागि शक्तिशाली र सुविधासम्पन्न खाद्य गुणस्तरसम्बन्धी निकायको खाँचो छ।

- जीवनप्रभा लामा, महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग



कति अशुद्ध र अस्वस्थ ?

तेल/घिउ ः     २५ प्रतिशत

चामल, गहुँ, दाल ः    २२ प्रतिशत

प्रशोधित पानी ः     १७ प्रतिशत

दूध र दूधजन्य पदार्थ ः    १३ प्रतिशत

फलफूल र तरकारी ः    ८ प्रतिशत

मरमसलाः     ५ प्रतिशत

मिठाई र चकलेट ः    ४ प्रतिशत

नुन ः    १ प्रतिशत

चिया र कफी ः    १ प्रतिशत

अन्य ः     ५ प्रतिशत



कुखुरामा एन्टिबायोटिक

कलेजो ः २३ वटामा।

पाङ्ग्रा ः १८ वटामा।

अन्य भाग ः १३ वटामा।

 -कुखुराको मासुका २५ नमुना परीक्षण गर्दा ।

स्रोत ः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग)



'अनुगमन मात्र समाधान होइन'

अक्सर पानी, दूध, चिया र पाउरोटीबाट सुरु हुन्छ, आमनेपालीको बिहान। तर, तिनै दूधमा फोहोर पानी, अखाद्य कास्टिक सोडाजस्ता जनस्वास्थ्यमा असर पार्ने पदार्थ मिसाइएका हुन्छन्। चियापत्तीमा काठको धूलो, कृत्रिम रंग र प्रयोग भइसकेको चियापत्ती आदि मिसाउनु अनि बेकरीमा अखाद्य रसायन भेटिनु सामान्य भइसकेको छ। खानेपानीमा पनि शुद्धता छैन।

म्याद नाघेका खाद्यसामग्रीको कुरै नगरौँ। हरेक चीज नक्कली, हरेक चीजमा मिसावट। मिसावट र दूषित गर्नेको पनि त सीमा हुन्छ। सबैजसोले जानीजानी धन कमाउन यस्तो कालो काम गररिहेका छन्।

तेल झिकिसकेका ल्वाङ, सुकमेल, मरीचलगायत चिया मसलाहरू प्रशस्तै पाइन्छन्। चामलमा ढुंगा भेटिनु र दाल पखाल्दा रंग निस्कनु सामान्य हो। सागसब्जी, मूला, काँक्रो, गाँजरजस्ता काँचै खान सकिने वस्तु मनोहरा र हनुमन्ते खोलाको ढल मिसिएको पानीमा पखालिएको हुन्छ। तिनमा ब्याक्टेरयिा, टेपवर्म आदि किटाणु प्रशस्तै छन् भन्न प्रयोगशालामा परीक्षण गर्नै पर्दैन। अझ कीटनाशक विषादीको अन्धाधुन्ध प्रयोगको त कुरै भएन।

यसै गरी हर्मोन हालिएका काँक्रो, लौका तथा रंग हालिएका पर्बलहरू बजारमा दैनिक बिक्रीवितरण भइरहेका छन्। तोरीको तेलमा अन्य सस्तो एवं अखाद्य तेल मिसाएर कडा गन्ध थपिएको पनि हरेक भान्सामा अनुभव गर्न सकिन्छ। तागतिलो वस्तु भनेर खाइने माछामासुको स्थिति झन् डरलाग्दो छ। तराईबाट ट्रकको लामो यात्रापछि आएका थिलथिलो र घाउ नै घाउ भइसकेका राँगाभैँसीहरूलाई सामान्य परीक्षणबिनै काटिन्छ। चोभार र विष्णुमती किनारमा काटिएपछि खुला रूपमा मासु उपभोक्तासम्म पुग्छ।

कार्बाइड हालिएको आँप र स्वादविहीन केरा, विषादीयुक्त अंगुर, स्याकरनिको इन्जेक्सन हालिएको खर्बुजा आदि फलफूल दूषित छन्। सडकछेउमा बेचिने झालमुरी, पानीपुरी, चटपटे, मःम, ससेज र सेकुवादेखि काटिएका फलफूलहरूमा सडकको धूलो, झिँगा, सवारीसाधनको धूवाँ मिसिन्छन्, पसलेले व्यक्तिगत सरसफाइ ध्यान नदिने रहेछन् भने त विभिन्न रोग सर्ने जोखिम झन् उच्च हुन्छ। मिसावटयुक्त र दूषित खानेकुराहरूको सूची धेरै लामो हुन सक्छ।

हुन त प्रधानमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि उपभोक्तावादीहरू क्यामरा बोलाएर अनुगमनमा दौडिरहेकै छन्। तर, वर्षौंदेखिको आन्तरकि द्वन्द्व, मजदुर राजनीति तथा ऊर्जा संकटका कारण दयनीय अवस्थामा पुगेका खाद्य उद्योगहरूमाथि आक्रामक शैलीको अनुगमन समाधान होइन। यसको एउटा उदाहरण न्युरोडको पुष्टकारी पसल हो।

त्यसो भएमा नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेकाले अब हाम्रो बजार आयातीत सामानले भरिने स्थिति आउँछ। त्यसैले सामान्य त्रुटि भएका घटनामा खाद्य उद्योग बन्द गराउँदै हिँड्ने भीडलाई तुरुन्त रोकी जनचेतनामूलक अभियान चलाउनुपर्छ।

- हरिहर गुरागाईं, खाद्य वैज्ञानिक



समस्या पानीमै

खाद्यवस्तुभन्दा पनि सबैभन्दा ठूलो समस्या पिउने पानीमा छ। भाइरस र ब्याक्टरियाले संक्रमित खानै नहुने पानी आपूर्ति भइरहेको छ। दालमा अखाद्य रंगहरू मिसाइएका छन्। चामलको बोरा खोलेर हेर्दासमेत कीटनाशक विषादीको गन्ध आउँछ। यस्ता खाद्यवस्तुको नियमित सेवनले तत्काल वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता सामान्य समस्या देखिए पनि दीर्घकालमा कलेजो, पेट र आन्द्राको क्यान्सर हुन सक्छ।

विषादी पूर्ण निषेध गर्नुपर्छ भन्ने होइन तर त्यो पनि कहाँ कति प्रयोग गर्ने भन्ने हुनुपर्छ। भनिन्छ, काभ्रेको बालुवा गाविसका किसानहरूले आफ्ना लागि र बजारका लागि भनेर दुईथरीका तरकारी लगाउँछन्। बजारमा जाने तरकारीमा अत्यधिक विषादीको प्रयोग गरिन्छ। विषादीको केही मात्रा सूर्यको किरण र हावाले नष्ट गरे पनि पानी र माटोमा त्यसको अंश बाँकी रहन्छ। जमिनमुनिको पानी प्रयोग गर्नेहरूलाई त्यसले असर पुर्‍याउँछ।

काठमाडौँको अर्को ठूलो समस्या भनेको भूमिगत पानी हो। परीक्षण नगरी जथाभावी रूपमा पानी पिउने गरिन्छ। पानीमा रहेका अखाद्य खनिज पदार्थ आँखा, हाड, कलेजो र छालामा जम्मा हुन्छन्। पछि गएर विभिन्न रोग निम्त्याउँछन्। काठमाडौँको पानीको सतह घट्दै जाँदा आर्सेनिकको जोखिम बढ्दो छ। व्यवसायीले आफ्नो नाफा मात्र हेर्छन्। विषादीको अनुगमन छैन। जनस्वास्थ्य जोखिममा पर्दासमेत सरकारलाई वास्ता छैन। अहिले बाटो र टेलिफोन प्राथमिकतामा पर्छ, जनस्वाथ्यप्रति कसैको चासो छैन। यसका लागि उच्चस्तरको इच्छाशक्ति र अनुगमन चाहिन्छ। नियमकानुन पनि समयसापेक्ष बनाउँदै लग्नुपर्छ।

- डा दिनेशचन्द्र पोखरेल, पेटरोग विशेषज्ञ

कुराकानीमा आधारित)



सावधानी


-    अन्नलाई सुक्खा राख्ने।

-    काँचो र पाकेको खानेकुरालाई छुट्याएर र प्याक गरेर फ्रिजमा राख्ने।

-    फलफूल र तरकारीलाई राम्ररी धोएर मात्र पकाउने।

-    पानी उमालेर मात्र पिउने।

-    खाना पकाउने भाँडा र भान्सा सफा राख्ने।

-    फलफूलहरू खाँदा सकेसम्म ताछेर खाने।

No comments:

Post a Comment