Wednesday, January 29, 2014

विदेशी ब्रान्डका नेपाली नाम

विदेशी ब्रान्डका नेपाली नाम

  • ख्यातिप्राप्त विदेशी कम्पनीको उत्पादनमा नेपाल सम्बन्ध

असारको दोस्रो साता मनाङको पदयात्रामा रहेका पत्रकार उमेश श्रेष्ठको जम्काभेट भयो, अस्ट्रेलियन महिला पर्यटकसँग। तिनले बोकेको काठमाडौँ ब्रान्डका ब्याकप्याक -झोला) का बारेमा उनले आफ्नो ब्लग माईसंसारडटकममा राखेका के थिए, प्रतिक्रियाहरूको ओइरो लागिहाल्यो। विदेशमा रहेका नेपालीले नेपालसँग जोडिएका अन्य थुप्रै विदेशी उत्पादन र तिनका नाम त्यसमा थपिदिए।

पछिल्ला वर्षमा कैयौँ अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालका ठाउँ र प्राकृतिक सम्पदाका नाममा विश्व बजारमा आफ्ना उत्पादन विस्तार गर्दै लगेका छन्। अस्ट्रेलियामा मुख्यालय रहेको काठमाडौँ होल्डिङ्ले हाइकिङ्, ट्रेकिङ् र पर्वतारोहणमा प्रयोग हुने टेन्ट, स्लिपिङ् ब्याग, ज्याकेट, जुत्ता उत्पादन गर्दै आएको छ। विश्वमा त्यस्ता कम्पनीहरू थुप्रै छन्, जसले आफ्ना जुत्ता, लट्ठी, झोला, ज्याकेटदेखि गाडीसम्मका विभिन्न मोडललाई नेपाली नाम नदिएका होऊन्।

अधिकांश उत्पादन नेपालको हिमाली क्षेत्रसँग मिल्दाजुल्दा देखिन्छन् भने कतिपय सीधै पर्वतारोहण क्षेत्रसँग सम्बन्धित छन्। थम्सन नेपालकी सिनियर क्रियटिभ डाइरेक्टर सुचित्रा एमजी भन्छिन्, "नेपालले अति सुन्दर प्राकृतिक छटा र भूगोल उपहारमै पाएको छ। त्यही भएर विदेशी ब्रान्डहरूको नामकरण साहस, प्रकृति र मानिसको इच्छाशक्ति प्रतिविम्बित भएका छन्। ती ब्रान्डको विश्वभर विशिष्ट पहिचान छ।"

अन्तर्राष्ट्रिय कम्पनीहरूको सबभन्दा ध्यान खिचेको छ सर्वोच्च शिखर सगरमाथा वा एभरेस्टले। चर्चित अमेरिकी मोटर कम्पनी फोर्डले स्पोर्ट युटिलिटी भेइकल -एसयूभी) सेगमेन्टका तीनवटा मोडललाई एभरेस्ट नाम दिएको छ। गत वर्ष बिक्रीका हिसाबले विश्वका ठूला गाडी निर्माता कम्पनीहरूको सूचीमा फोर्ड तेस्रो स्थानमा परेको थियो। १६ जुन १९०३ मा २८ हजार डलरको लगानीमा हेन्री फोर्डले डेटोयट राज्यमा फोर्ड मोटर कम्पनीको स्थापना गरेका हुन्। यही कम्पनीको फोर्ड ब्रान्ड अन्तर्गत एभरेस्ट मोडेलका तीनथरी गाडीले नेपाली सडकमा समेत राम्रै उपस्थिति देखाइसकेका छन्।

फोर्डलाई पछ्याएको छ युरोपको अर्को मोटर उत्पादक स्कोडाले। चेक गणतन्त्रको यो कम्पनीले एसयूभी सेगमेन्ट अन्तर्गतकै एउटा मोडेललाई यती नाम दिएको छ। हिमाली क्षेत्रको रहस्यमय मानव -वैज्ञानिक आधारमा प्रमाणित नभएको)का रूपमा बुझिने यतीप्रति पश्चिमाहरूको विशेष चासो छ। यतीलाई युरोपको एक नम्बरको मोटर कम्पनी दाबी गर्ने स्कोडाले आफ्नो उत्पादनसँग जोडेको छ। नेपाली बजारमा यती मोडेल अन्तर्गत पेट्रोल र डिजल गरी दुई किसिमका गाडी उपलब्ध छन्। नाम अनुसारकै काम भनेझैँ गाडीमा चकलेट, पेय पदार्थलाई चिसो राख्न एउटा बेग्लै बक्सको पनि व्यवस्था गरिएको छ। स्कोडा गाडीको नेपालका लागि अधिकृत विक्रेता मोरङ अटो वक्र्सका प्रमुख कार्यकारी विष्णु अग्रवाल पनि यती नामले नै गाडीको क्षमता र डिजाइन झल्काउने भएकाले ग्राहकहरूलाई उक्त मोडल पहिचान गर्न सहज भएको बताउँछन् । भन्छन्, "एक त युरोपमा सबैभन्दा रुचाएको मोडल त्यसमाथि यती नामले त यसको बजार विस्तारमा थप सघाएको छ ।"

अन्तर्राष्ट्रिय बजारमा स्थापित यी कम्पनीहरूले नेपाली नामलाई किन महत्त्व दिए त ? थम्सन नेपालकी सुचित्रा झट्ट हेर्दा कुनै पनि ब्रान्डको नाम कतैबाट टपक्क टिपेजस्तो लागे पनि त्यसका लागि एउटा गहन र वैज्ञानिक प्रक्रिया पूरा गरिने बताउँछिन्। भन्छिन्, "कुनै पनि अन्तर्राष्ट्रिय ब्रान्डका लागि नामको उच्चारण, बुझाइ, क्षेत्रीय सोच र अर्थलगायतका पाटा विश्लेषण गरिन्छ।"

स्कोडाको यती र फोर्डको एभरेस्ट भन्नेबित्तिकै साहसिक रोमाञ्च, मान्छेको साहसको परीक्षण र प्रकृतिको विशिष्ट सिर्जना दिमागमा आउँछ र ग्राहकमा पलाउने यही सोचकै कारण यी गाडीहरूले अटोमोबाइल बजारमा विशिष्ट पहिचान बनाउन सफल भएको गुरुङको तर्क छ।

सर्वोच्च शिखर मात्र होइन, आमादब्लम (६,८५६ मिटर)मा पनि विदेशी कम्पनीले आँखा लगाइसकेका छन्। सोलुखुम्बु जिल्लामा अवस्थित यो हिमालको सौन्दर्यले देशीविदेशी पर्यटक र पर्वतारोहीलाई लठ्याएको छ। त्यही हिमालको नाममा माउन्टेन इक्विपमेन्ट -एमई)ले टिसर्ट बजारमा ल्याएको छ। पर्वतारोहीमाझ ज्याकेट, टिसर्ट र अन्य न्याना पहिरनका लागि एमईको बेग्लै सान छ। एमईले अन्नपूर्ण ब्रान्डको न्यानो ज्याकेट पनि उत्पादन गरेको छ।

पदयात्रा र पर्वतारोहणका पहिरन र सामग्रीका लागि विश्वविख्यात ब्रान्ड लो-अल्पाइनले पनि विभिन्न नेपाली नाममा ट्रेकिङ् र पर्वतारोहणका लागि सुहाउँदो ब्याकप्याक उत्पादन गर्दै आएको छ। कम्पनीद्वारा उत्पादित अन्नपूर्ण र मकालु ब्रान्डका व्याकप्याक पर्वतारोहीमाझ प्रिय छन्।

इटालीको कम्पनी ला स्पोर्टिभाले त आफ्ना केही जुत्तालाई नेपाल नै नाम दिएको छ। ट्रेकिङ् र हाइकिङ् प्रयोजनका लागि उपयोगी हुने यी जुत्ता पर्वतारोही र गाइडमाझ लोकप्रिय छन्। त्यसबाहेक स्पोर्टिभाले मकालु र ल्होत्से ब्रान्डको जुत्ता पनि उत्पादन गर्ने गरेको छ। गाडी, जुत्ता, झोला र ज्याकेट मात्र नभई हिमाल चढ्दा प्रयोग गरिने छडीमा समेत नेपाली नाम प्रयोग गरिएको पाइन्छ। युरोपियन ब्रान्ड लकीले खुम्बु, शेर्पा ब्रान्ड दिएर लट्ठी उत्पादन गर्दै आएको छ।

त्यसै गरी यूएईको कम्पनी एभरेस्ट रेफ्रिरजेसनले व्यापारकि प्रयोजनका लागि उपयोगी फ्रिज उत्पादन गरेको छ। रेस्टुराँ, डिपार्टमेन्ट स्टोर र होटलजस्ता व्यवसायमा एभरेस्ट फ्रिजको राम्रो ब्रान्डिङ् छ। यसले एअर कुलर, चिलर, फ्रिजर, मोबाइल फ्रिजरजस्ता विभिन्न चिस्याउने युनिट उत्पादन गरेको छ। घरायसीदेखि औद्योगिक प्रयोजनसम्मका लागि उपयोगी फ्रिज हुन्। बेलायती कम्पनी चेम्टुराले पनि आफ्ना तीन दर्जन उत्पादन एभरेस्ट ब्रान्डमा उत्पादन गर्दै आएको छ। यो फ्रिजमा प्रयोग हुने विशेष किसिमको लुब्रिकेन्ट्स हो।

पर्वतारोहणको क्षेत्रमा नेपालसँग जोडिएका ब्रान्डहरूले नेपाली आरोहीहरूको दृष्टिकोण कस्तो छ त ? अन्तर्राष्ट्रिय माउन्टेन गाइड ल्हाक्पा शेर्पा भन्छन्, "पहिलो सर्त त गुणस्तर र डिजाइन नै हो। त्यसमा चित्त बुझ्यो भने पक्कै पनि नेपाली नाम नै रोजिन्छ।" शेर्पाका अनुसार नेपाल र नेपालीलाई मन पराउने विदेशी पर्यटक र पर्वतारोहीले नेपालसँग साइनो भएका ब्रान्ड र सामग्री रोज्छन्।

अस्ट्रेलियाको एउटा कम्पनीले काठमाडौँ ब्रान्डमै ट्रेकिङ्मा प्रयोग हुने झोला र अन्य सामग्री उत्पादन गर्दै आएको छ। कम्पनीले झोलालाई जिरी र धुनीबेँसीजस्ता नेपाली नाम दिएको छ । विशेष गरी अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत र दक्षिण अफ्रिकी पर्वतारोहीले काठमाडौँ ब्रान्ड निकै रुचाउने ल्हाक्पाकोे

अनुभव छ।

No comments:

Post a Comment