Wednesday, January 29, 2014

मोबाइलबाटै वित्तीय कारोबार

मोबाइलबाटै वित्तीय कारोबार

  • नगद, डेबिट र क्रेडिट कार्डसँग प्रतिस्पर्धा

ठाकुरद्वारा, बर्दियास्थित जंगल हेभन रिसोर्टका सञ्चालक कृष्णप्रसाद भट्टराई घरमै बसीबसी काठमाडौँमा आफ्ना छोराछोरीलाई चाहिएको रकम पठाउँछन्। त्यसबाहेक नेपाल टेलिकमको इन्टरनेट सेवा एडीएसएल, मोबाइल, ल्यान्डलाइन फोन र डिसहोमको रिचार्जसमेत एउटा मोबाइल सन्देश पठाएको भरमा घरबाटै गर्छन्। दुई महिनाअघिसम्म उनी त्यति कामका लागि घन्टौँ लगाएर गुलरिया र नेपालगन्जसम्म पुग्थे।

भट्टराईले उपभोग गररिहेका यस्ता सरल र अविश्वसनीय सेवा देशव्यापी बनेको खण्डमा आमनागरकिको जीवन सहज र सरल हुन सक्छ। रकम जम्मा तथा बचत, रेमिट्यान्स कारोबारका लागि मोबाइल फोनमार्फतको प्रविधि बढी सुरक्षित र सहज पनि मानिन्छ। सेवा लिँदाका बखत जुन सिमबाट दर्ता गरिएको हो, त्यसैबाट कारोबार हुनुपर्ने र पासवर्ड पनि आफूले चाहेका बेला तुरुन्त फेर्न सकिने भएकाले अन्य वित्तीय सेवाहरूजस्तै यो पनि सुरक्षित छ।

त्यसमाथि यो प्रविधिले पसल र सपिङ् मल, होटल, रेस्टुराँ, सिनेमा हल आदि ठाउँमा रकम भुक्तानी गर्ने माध्यम बनिरहेको डेबिट र क्रेडिट कार्डबाटै जस्तो मोबाइलमा आधारति यो सेवामार्फत कारोबार गर्न सक्छन्, यसको सेवा लिनेहरूले। त्यसैले यसले भविष्यमा डेबिट र क्रेडिट कार्डको प्रयोगलाई विस्थापित गर्न सक्छ। किनभने, यो सहज र सुरक्षित मात्र छैन, पहुँचका दृष्टिले पनि सर्वसुलभ छ। मोबाइल फोनको फैलिरहेको सञ्जालले पनि यो प्रविधि प्रयोग गर्न झन् सजिलो हुँदै गएको छ। ताजा तथ्यांक अनुसार नेपालमा मोबाइल फोनका ग्राहक संख्या दुई करोड नाघिसकेको अनुमान छ। मोबाइल सेवाको विस्तारले नै कुल जनसंख्याको करबि २५ प्रतिशतको पहुँच इन्टरनेटमा भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक छ।

एकातिर मोबाइल फोनको अविश्वसनीय विस्तार र अर्कोतर्फ नेपालको कुल जनसंख्याको करबि ७० प्रतिशत हिस्सा अझै पनि वित्तीय सेवाभन्दा बाहिर रहेको वास्तविकताले मोबाइलमार्फत हुने सेवाको सम्भावना प्रचुर रहेको पुष्टि हुन्छ। भौगोलिक विकटताका कारण पनि बैंक तथा वित्तीय संस्थाका लागि दूरदराजमा शाखा विस्तार गर्न सहज छैन। सामान्यतयाः ग्रामीण क्षेत्रमा एउटा शाखा खोल्न मात्र ५० लाख रुपियाँभन्दा बढी खर्च लाग्ने वित्तीय संस्थाका सञ्चालकहरूसमेत स्वीकार्छन्। त्यसपछि हुने सञ्चालन खर्चको त झन् कुरै भएन। गाउँमा शाखा खोले पनि सुविधा सहरमा जस्तै दिनुपर्ने हुन्छ। यही सीमालाई बुझेर नै होला, पछिल्लो समय अधिकांश बैंकले शाखारहित बैंकिङ् सेवालाई जोड दिँदै आएका छन्। यस्ता सेवा वित्तीय पहुँचमा विकासोन्मुख मुलुकहरूमा बढी प्रभावकारी साबित भएका छन्। केन्याको 'एम पेसा'लाई त मोबाइल बैंकिङ्को विश्वकै नमुना र सफल कार्यक्रमका रूपमा लिइन्छ। अफगानिस्तान, पाकिस्तानलगायतका मुलुकहरूमा महत्त्वपूर्ण भुक्तानी प्रयोजनका लागि यस्ता सेवा प्रयोग भइरहेका छन्। कुनै पनि कम्पनीले तोकिएको व्यवस्थाको अधीनमा रहेर वित्तीय सेवाको विस्तारमा सघाउ पुर्‍याउँछ भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवाली बताउँछन्। भन्छन्, "जनताको पैसा चलाएपछि त्यसको नियमन गर्न आवश्यक छ। राष्ट्र बैंकको स्वीकृतिको अधीनमा रहेर वित्तीय पहुँच विस्तारमा सघाउनु राम्रो हो।"

यतिखेर मोबाइलमार्फत कारोबारको नयाँ सेवा देशव्यापी बनाउन करबि आधा दर्जन कम्पनी सक्रिय देखिन्छन्। हुन त यसअघि कतिपय बैंकले 'मोबाइल वालेट', 'मोबाइल मनी'जस्ता वित्तीय सेवा सुरु नगरेका होइनन्। तर, ती सेवा बैंकपिच्छे फरक-फरक र निश्चित ग्राहकबीच नै सीमित थिए। र, त्यस्तो सेवा लिन खोज्ने बैंकमा खाता खोल्नैपर्ने बाध्यता थियो। तर, पछिल्ला 'हेल्लो पैसा' र 'फोन पे'का सेवाहरू भने कुनै एउटा बैंकका ग्राहकमा सीमित छैनन्। यी दुवै मोबाइल भुक्तानीमा आधारति बेग्लाबेग्लै 'प्लेटर्फम' हुन्। 'हेल्लो पैसा' फिन एक्सेस र 'फोन पे' एफवान सफ्टले सञ्चालनमा ल्याएका हुन्। यी दुई प्लेटर्फमसँग बेग्लाबेग्लै ढंगले दर्जनौँ बैंक र मोबाइल सेवा प्रदायकहरू आबद्ध छन्। 'हेल्लो पैसा'को 'सेटलमेन्ट' बैंक लक्ष्मी बैंक र फोन पेको नबिल बैंक हो।

फिन एक्सेसका कार्यकारी अध्यक्ष सञ्जयबहादुर शाह भन्छन्, "हाम्रो गरबिीको कारण भनेकै वित्तीय सेवाको पहुँच नहुनु पनि हो, त्यसलाई चिर्न पनि यस्ता सेवाको विस्तार आवश्यक छ।" शाहको 'हेल्लो पैसा'ले छोटो समयमै मुलुकभर ४ सय ५० भन्दा बढी अपरेटर अर्थात् एजेन्ट पनि नियुक्त गरसिकेको छ। 'हेल्लो पैसा'सँग सबै मोबाइल सेवा प्रदायकहरू र सातवटा बैंक आबद्ध छन्। त्यसै गरी करबि १० वर्षअघि तीन जना युवा विश्वास ढकाल, असगर अलि र सुवास शर्मा मिलेर खोलेको एफवान सफ्टले आफ्नो प्लेटर्फम 'फोन पे'को आगामी ग्राहक संख्या एक लाखभन्दा बढी पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य पनि अघि सारेको छ। हालसम्म 'फोन पे'मा १९ वटा बैंक आबद्ध भइसकेका छन् भने यसका सदस्य ग्राहकहरूले आफ्नो मोबाइलमा एउटा म्यासेज देखाउनासाथ सिभिल मल, भाटभटेनी स्टोर, बुद्ध एयर, ब्रोड लिंकलगायतका संस्थाका सुविधाहरू उपभोग गर्न सक्छन्।

यस्ता सेवाका कारण सहजै उपलब्ध हुने लघुवित्त कर्जाका कारण दुर्गम गाउँमा बस्ने नेपालीहरूले समेत वित्तीय सञ्जालमा प्रवेश पाउन सक्छन्। त्यसले अन्ततः रोजगार सिर्जना गर्नुका साथै ग्रामीण जनताको सशक्तीकरणमा पनि सघाउ पुग्ने देखिन्छ। 'हेल्लो पैसा'को प्लेटर्फम अन्तर्गत रहेर करबि दुई करोड रुपियाँको लघुवित्त कर्जा प्रवाह भइसकेको कम्पनीका अध्यक्ष शाह बताउँछन्।

तर, यस्ता सेवा प्रदायक कम्पनीहरूको मुख्य ध्यान भने वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्समाथि रहेको छ। वाषिर्क करबि चार खर्बको रेमिट्यान्सको कारोबारमाथि पकड जमाउन यी कम्पनीहरूबीच एक किसिमको होडबाजी नै सुरु भएको छ। त्यसका लागि गतिलै तयारी पनि गरसिकेका छन्, यी कम्पनीहरूले। जस्तो : 'फोन पे'ले वेस्ट्रन युनियनसँग साझेदारी सम्झौता गरसिकेको छ। सम्झौताले मूर्त रूप पाए वैदेशिक रोजगारमा जाने नेपालीहरू आफूले कमाएको रकम पठाउन अहिले बेहोर्नुपरेको झन्झटबाट मुक्त हुने एफवन सफ्टका भाइस-प्रेसिडेन्ट शर्मा दाबी गर्छन्। त्यसैगरी 'हेल्लो पैसा'ले पनि रेमिट्यान्स लक्षित 'प्रोडक्ट'का लागि आवश्यक तयारी गररिहेको छ। यदि गाउँगाउँमा यस्ता वित्तीय सुविधा पुग्ने हो भने अनुत्पादक प्रयोजनका लागि भइरहेको रेमिट्यान्सको थोरै हिस्सा भए पनि बचत हुने र उत्पादनशील क्षेत्रमा लगानी हुन सक्ने शाहको तर्क छ।

हुन त यस्ता सेवामाथि सुरक्षाको प्रश्न नउठेका होइनन्। तर, डेबिट र क्रेडिट कार्डको कारोबारप्रति ढुक्क हुन आठ-दस वर्ष लागेजस्तै यस्ता वित्तीय सेवाप्रति सर्वसाधारणको भरोसा हुन पनि केही समय लाग्न सक्छ।

वित्तीय समावेशीकरणको सरकारको एजेन्डालाई नै व्यवहारमा लागू गर्न पनि यस्ता सेवाको प्रयोग र विस्तारका लागि उत्प्रेरति गर्नुपर्ने नेपाल बैंकर्स प्रशिक्षण केन्द्रका सञ्जीव सुब्बा बताउँछन्। भन्छन्, "विपन्न क्षेत्र कर्जाका लागि आवश्यक सेवा र सर्त उपलब्ध गराएजस्तै यस्ता प्रविधि र सेवालाई प्रयोगमा ल्याउन र आत्मसात् गर्न राष्ट्र बैंक तथा सरकारले वित्तीय संस्थाहरूलाई उत्प्रेरति गर्नुपर्छ।" अन्यथा विगतमा देखा परेका विभिन्न वित्तीय उत्पादन तथा सेवाजस्तै त्यत्तिकै हराएर जाने सुब्बाको धारणा छ।

यस्ता सेवाहरूको विस्तारमा अवरोध नभएका होइनन्। मोबाइलको नेटवर्क राम्रो नहुनुलाई शर्मा प्रमुख तगारोका रूपमा देख्छन्। यसतर्फ भने मोबाइल कम्पनीहरूले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ। यस्ता सेवाको अन्तिम लक्ष्य भनेको नगदविहीन अर्थतन्त्र नै हो। त्यो लक्ष्य हासिल गर्न मोबाइल सेवा गतिलो वाहक बन्न सक्छ। उता शाह भने कागजी नगदबाटै सबै कुरा हुन्छ भन्ने स्थापित सामाजिक मान्यतालाई प्रमुख अवरोध ठान्छन्। भन्छन्, "अहिलेको प्रमुख प्रतिस्पर्धा भनेको कागजी नोटसँग हो। औपचारकि वित्तीय प्रणाली नपुगेका ग्रामीण क्षेत्रमा उद्यमशीलता विकास गर्दै रोजगारी सिर्जना गर्न पनि यस्ता सेवा सहयोगी छन्।"

कतिपय वित्तीय संस्थाहरूले यस्ता सेवालाई आफ्नो प्रतिस्पर्धीका रूपमा लिएकाले पनि अपेक्षा गरे अनुरूप विस्तार हुन नसकेको व्यवसायीहरू बताउँछन्। तर, यस्ता कम्पनीको प्लेटर्फम मात्र प्रयोग हुने हो। हार्डवेयर र सफ्टवेयर सम्बन्धित सेवा प्रदायक कम्पनीको भुक्तानी र सेवा केकस्तो र कसरी दिने भन्ने आबद्ध बैंकहरूमै निर्भर रहन्छ। 'हेल्लो पैसा'का शाह भन्छन्, "हामीले त सेवाग्राही, वित्तीय संस्था, मोबाइल सेवा प्रदायकहरूलाई एउटै सञ्जालमा बाँध्ने मात्र हो।"

वित्तीय सेवा पहुँचको सन्दर्भमा धनी र गरबिबीच रहेको ठूलो खाडल कम गर्न पनि यस्ता प्रोडक्टले सघाउ पुर्‍याउने विश्वास वित्तीय क्षेत्रका जानकारहरूको छ। नेपालजस्ता विपन्न मुलुकका लागि पछिल्ला वर्षमा अवैध कारोबार टाउको दुखाइको विषय बन्दै आएको छ। सरकारी निकायको नजरबाट बच्न अनौपचारकि अर्थतन्त्रका खेलाडीहरूले बढी नगदको प्रयोग गर्ने गर्छन्। यस्ता अवैध नगद कारोबारलाई निरुत्साहित गर्न र भ्रष्टाचारलाई न्यून गर्न पनि मोबाइलमा आधारति वित्तीय सेवाहरूले सघाउ पुर्‍याउन सक्छ। त्यसका अलावा सामाजिक सुरक्षा भत्ताको वितरणलाई प्रभावकारी बनाउन पनि उपयोगी हुन सक्छ।

यस्ता सेवालाई बैंकहरूले बेग्लै प्रोडक्टका रूपमा नहेरी आफ्ना ग्राहकका लागि दिइने अतिरत्तिm सेवाका रूपमा लिएकाले भनेजस्तो विस्तार हुन नसकेको सुब्बाको ठहर छ। बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार गर्दा लाग्ने खर्चलाई हेर्ने हो भने पनि यस्ता सिर्जनात्मक र नवीन सेवाको विकल्प छैन। सुब्बा भन्छन्, "जति बढी वित्तीय पहुँच भयो, त्यति बढी उद्यमशीलता बढ्छ, उपभोग बढ्छ र त्यसले रोजगारी बढाएर अन्ततः समग्र अर्थतन्त्रलाई नै नयाँ गति प्रदान गर्छ।"





कारोबारको सरल विधि

मोबाइल आधारित सेवामा आबद्ध हुन वा ग्राहक बन्न सामान्य प्रक्रिया मात्र पूरा गरे पुग्छ। देशव्यापी हुँदै गएका तिनका एजेन्ट वा स्टोरमा गएर वा अनलाइनबाट एउटा सामान्य प्रक्रिया पूरा गरे पुग्छ। यसका लागि बैंक खाता हुनैपर्छ भन्ने छैन। सामान्य फाराम भरेर आफ्नो मोबाइलमार्फत एउटा सन्देश पठाउनासाथ उक्त व्यक्ति वा ग्राहक सम्बन्धित प्लेटर्फममा आबद्ध हुन जान्छ। बैंक खाता भएकाले त्यसबाटै सोझै रकमान्तर गर्न सक्छन्। बैंकमा खाता नभएकाहरूसमेत अनलाइन वा मोबाइलमार्फत यस्ता सेवासँग आबद्ध हुन सक्छन्।

No comments:

Post a Comment