Friday, December 28, 2012

ब्राजिल-अर्जेन्टिनाः बलियो दावेदर

१९औं विश्वकप विजेताको छिनोफानो हुन दुईसाता बाँकी रहे पनि अघिल्ला खेलहरूले ब्राजिल र अर्जेन्टिनाको दाबेदारी बलियो देखाएको छ।

चिलीविरुद्धको खेलमा ब्राजिलका स्ट्राइकर काका।
२८ जेठदेखि दक्षिण अफ्रिकामा जारी १९ औं विश्वकप फूटबल प्रतियोगिताको लिग चरणमा दक्षिण अमेरिकीहरू सफल रहे। लिगको समाप्तिसँगै प्रि-क्वार्टरफाइनलमा प्रवेश गर्ने १६ मध्ये ६ राष्ट्र अमेरिकी महाद्वीपकै थिए, १४ असारसम्मको नतिजा अनुसार तीन दक्षिण अमेरिकी मुलुक क्वार्टरफाइनलमा पुगेका छन्। ल्याटिनोजहरूका लागि यो सन् १९९८ पछिको सबैभन्दा उत्कृष्ट नतिजा हो। यसैगरी युरोपबाट क्वार्टरफाइनलमा पुगेका जर्मनी र नेदरल्याण्डस्सँगै स्पेन र पोर्चुगल पनि बलियो देखिएका छन्। अफ्रिकाबाट क्वार्टरफाइनलमा प्रवेश गर्ने मौका चार पटकको अफ्रिकन च्याम्पिअन घानाले पाएको छ भने दक्षिण कोरियाको यात्रा प्रि-क्वार्टरमा पुगेर रोकियो भने सन् २००२ मा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको जापान अझ्ै माथि उक्लिन पनि सक्छ।
क्वार्टरफाइनलसम्म आइपुग्दा अर्जेन्टिना, ब्राजिल र उरुग्वे अपराजित छन् भने जर्मनी प्रत्येक चरणसँगै बलियो बन्दै गएको छ। विश्वकपको पहिलो दुईसाताको खेलमा सबैभन्दा बढी निराश इङ्गल्याण्डले पारेको छ। प्रिक्वार्टरमा जर्मनीसँग १-४ को हार इङ्गल्याण्डका लागि नमीठो सम्झ्नाका रूपमा रहिरहनेछ। औसत २५ वर्षमुनिका खेलाडी सम्मिलित जर्मन टोलीले इङ्गल्याण्डका टेरी, लाम्पार्ड, जेरार्ड जस्ता बूढा बाघ लाई पछारिदियो। यो विजयसँगै १८ पटक विश्वकपमा सहभागी जर्मनीले १६ पटक अन्तिम आठमा पुग्ने कीर्तिमान बनाएको छ।
यी पङ्क्ति लेखिँदासम्म अन्तिम प्रिक्वार्टर खेल्न बाँकी युरोपका परम्परागत फूटबल प्रतिस्पर्धी स्पेन र पोर्चुगलका खेलको तथ्याङ्क केलाउँदा स्पेन बलियो दाबेदार देखिन्छ। १५ असारको मध्यरातमा हुने घम्साघम्सीको विजेताले अन्तिम चारमा स्थान पक्का गर्न क्वार्टरफाइनलमा पाराग्वे र जापानको खेलका विजेतासँग भिड्नुपर्नेछ। सन् २००२ यता अन्तिम आठमा पुग्न नसकेको स्पेन र अहिलेसम्म सेमिफाइनलभन्दा माथि उक्लिन नसकेको पोर्चुगल विश्वकपमा अभागी टिमका रूपमा चिनिन्छन्। पाराग्वे र जापानले पनि अहिलेसम्म खासै उपलब्धि हासिल गरेका छैनन्।
१८ र १९ असारमा हुने क्वार्टरफाइनलले विश्वकपको प्रतिस्पर्धालाई थप उत्कर्षमा पुर्‍याउने छ। दुई पटकको विश्व च्याम्पिअन उरुग्वे र चारपटकको अफ्रिकन च्याम्पिअन घानाबीचको खेललाई दक्षिण अमेरिकी र अफ्रिकी महादेशबीचको फूटबल युद्धका रूपमा हेरिएको छ। अर्जेन्टिना र जर्मनीको भिडन्त प्रशिक्षक डिएगो म्याराडोनाका लागि सन् १९९० को फाइनलमा जर्मनीसँगको पराजयको बदला लिने राम्रो मौका हुनसक्छ। अर्को क्वार्टरफाइनलमा ब्राजिलको भिडन्त नेदरल्याण्डस्सँग हुनेछ। नेदरल्याण्डस्को लागि क्वार्टरफाइनल प्रवेश १२ वर्षयताको सबैभन्दा राम्रो नतिजा हो।
अहिलेसम्म युरोप र दक्षिण अमेरिकाबाहेक अन्य महादेशका राष्ट्रमा भएका चारैवटा प्रतियोगिता ब्राजिल र अर्जेन्टिनाले जितेको इतिहास छ। यसपटक ब्राजिल र अर्जेन्टिनाको खेलशैली पनि भिन्न छ। उनीहरूले दक्षिण अमेरिकाको कलात्मकता र युरोपको आक्रामकतालाई मिश्रण गरेका छन्। नेपाल पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठ भन्छन्, “उनीहरूको खेलमा आकर्षक ल्याटिन शैली मात्र छैन, आक्रामक युरोपेली शैली पनि भएकाले तिनको दावेदारी मजबुत देखिएको हो।” विगतका नतिजाले युरोपेली टिमलाई भने घरको बाघ, वनको स्यालका रूपमा चिनाएको छ। किनभने, अहिलेसम्म युरोपमा भएका १० विश्वकपमध्ये नौ वटा जितेका युरोपेली राष्ट्रले बाहिर भएका कुनै संस्करण जितेका छैनन्।

हिरोबाट जिरो
यसपालिको विश्वकपमा पनि चर्चित स्टार फूटबल खेलाडीहरूको निराशाजनक प्रदर्शन रोकिएको छैन। आफ्ना फ्यानहरूलाई सबैभन्दा निराश पारेका छन्― इङ्गलिश प्रिमियर लिगका स्टार वायन रोनीले। इङ्गलिश लिगमा चेल्सी र लिभरपुलविरुद्ध बिजुलीको गतिमा गोल गर्ने म्यानचेष्टर युनाइटेडका रोनीले गोलमात्र होइन आकर्षक प्रहार समेत गरेनन्। जर्मनीसँगको खेलले हिरोबाट जिरो बनाइदिएको रोनीसँगै जेरार्ड, टेरी र लाम्पार्डको खेल पनि बिर्सन लायक थियो। लिभरपुलका कप्तान स्टेफन जेरार्ड, चेल्सीका कप्तान जोन टेरी, म्यानचेष्टर युनाइटेडका कप्तान रोनी, फ्रान्क लाम्पार्ड जस्ता स्टार खेलाडी सम्मिलित इङ्गलिश टोली जर्मनीसँगको खेलमा ऊँट बनेको थियो।
इटालीका कप्तान फ्याबियो क्यानाभारो र आइभरी कोष्टका कप्तान डिरडियो ड्रोग्बा पनि असफल रहे। सन् २००६ को विश्वकपका हस्ती क्यानाभारो र अन्य खेलाडीहरूको कमजोर प्रदर्शनले साबिक विजेता इटाली पहिलो चरणबाटै बाहिरियो। चेल्सीलाई इङ्गलिश प्रिमियर लिग जिताउन निर्णायक ड्रोग्बा पनि जमेनन् र, आइभरी कोष्ट पहिलो चरणबाटै बाहिरियो। क्यामरुनका स्यामुअल इटो, फ्रान्सका थिएरी हेनरी र फ्रान्क रिभेरीले पनि कुनै छाप छोडेनन्। २००६ कै उपविजेता फ्रान्सको हविगत पनि इटालीकै जस्तो रह्यो। आन्तरिक विवादमा समेत फँसेको फ्रान्सेली टीममा निकोलस एनेल्कालाई अनुशासनको कारबाही गर्दै कोच रेमण्ड डोमेनेकले फिर्ता पठाएको विषय राष्ट्रपति निकोलश सार्कोजीसम्म पुगेको थियो।
यी सबै असफल स्टार हरूका लागि सम्भवतः यो नै अन्तिम विश्वकप हुनेछ।

शहीद स्मारक लिग आयो, गयो
चार महिनाभन्दा बढी चलेको शहीद स्मारक सानमिगल ए-डिभिजन फूटबल लिग नेपाली खेलकुदका कमजोर पाटाहरूलाई उजागर गर्दै सकियो। सुरेशराज न्यौपाने को रिपोर्ट
८ फागुन २०६६ देखि दशरथ रङ्गशालामा जारी शहीद स्मारक सानमिगल ए-डिभिजन फूटबल लिग ५ असार २०६७ मा सकिएको धेरैले चालै पाएनन्। लिग 'झ्ेलमा पर्नुमा दक्षिण अफ्रिकामा जारी विश्वकप फूटबलसँगै आयोजक अखिल नेपाल फूटबल संघ (एन्फा)को कमजोर व्यवस्थापन र खेलाडीहरूको फितलो प्रदर्शन पनि उत्तिकै जिम्मेवार छन्। एन्फा र क्लबहरूबीचको सम्बन्ध बिग्रँदा २०६३ सालपछि लिग हुनसकेको थिएन। लिग अवधिभर शारीरिक तन्दुरुस्ती र खेलकौशल दुवैमा कमजोर देखिए, खेलाडीहरू।
विभागीय क्लबका बाहेक राष्ट्रिय टोलीमा समावेश चल्तीका खेलाडीहरूको खस्केको खेलस्तरले लिग आकर्षक भएन। परिणाम; अघिल्ला लिगका तुलनामा दर्शकहरूको उपस्थिति पातलियो। त्यसमाथि लिगको मध्यतिर खेलाडी र क्लबहरूबीचको मिलेमतोले प्रतियोगिताकै औचित्यमाथि प्रश्न उठ्यो। कतिपय क्लबका व्यवस्थापक र प्रशिक्षकले खुलेरै लिगमा म्याचफिक्सिङ भएको बताए। खेलको नतिजालाई मात्र आधार बनाएर म्याचफिक्सिङ को हल्ला फिजाउनु गलत भएको एन्फा उपाध्यक्ष तथा प्रवक्ता ललितकृष्ण श्रेष्ठ बताउँछन्। श्रेष्ठ भन्छन्, “लिगमा कमजोरी नभएको होइन, मिलेमतो भएको भए प्रोटेष्ट गर्नुपर्‍यो, हल्लाका भरमा प्रतियोगितालाई बद्नाम गर्न मिल्दैन।” श्रेष्ठले जे जस्तो दाबी गरे पनि लिगको उत्तरार्द्धका अपत्यारिला परिणामहरूले मिलेमतो भएको केही हदसम्म पुष्टि हुन्छ।
खेलजगतलाई बद्नाम गर्ने यस्ता घटना र कमजोर व्यवस्थापनबीच नेपाल पुलिस क्लब लगातार दोस्रो पटक लिग जित्न सफल भयो। यसअघि २०६३ सालको लिग पनि पुलिसले नै हात पारेको थियो। उपाधिसँगै पुलिसले नगद रु.२० लाख तथा दोस्रो र तेस्रो क्रमशः नबिल थ्रीस्टार र एनआरटीले क्रमशः रु.१० लाख र रु.५ लाख नगद हात पारे। म्याचफिक्सिङकै कारण खेलका विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेबापत प्रदान गरिने पुरस्कार पनि 'झ्ेलमा परे। एन्फाले यसपटक उत्कृष्ट खेलाडीलाई अपार्टमेण्ट दिने घोषणा गरेको थियो। लिगकै दौरान राजनीतिक दलका भ्रातृ सङ्गठनका विभिन्न प्रतियोगिताहरू आयोजना गर्न एन्फाले अनुमति दिएर उसले आफ्नो ध्यान लिगको व्यवस्थापन सुधार्न तथा फूटबलस्तर बढाउने भन्दा पनि शक्तिकेन्द्रलाई रिझ्ाउनमै रहेको देखायो।
तीन वर्षसम्म अवरुद्ध लिग सुचारु हुनु आफैंमा सुखद् भए पनि खेलका सामान्य नियम र अनुशासनलाई बेवास्ता गरेर पुरस्कार राशी र प्रायोजकमा मात्र दिने एन्फाको रवैयाले नेपाली फूटबलको स्तर खस्कँदो छ। पछिल्लो एक दशकमा नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हासिल गरेको नतिजाले पनि त्यो पुष्टि गर्दछ। तसर्थ, आगामी दिनमा रङ्गशालामा दर्शकको उपस्थिति बढाउन र फूटबलको स्तर उकास्न एन्फाले प्रतियोगितापूर्व विगतका अनुभवलाई ध्यानमा राख्दै त्यसै अनुसारको संयन्त्र बनाउनुपर्दछ।

खेल्न पनि दिमाग चाहिन्छ
- विराटकृष्ण श्रेष्ठ


सुरेशराज न्यौपान
विराटकृष्ण श्रेष्ठ (४९) को प्रशिक्षणमा नेपाल पुलिस क्लबले पुनः एकपटक शहीद स्मारक सानमिगल लिगमाथि कब्जा जमाएको छ। उनकै प्रशिक्षणमा पुलिसले यसअघिको लिग पनि हात पारेको थियो। २०४५ सालदेखि प्रशिक्षण दिन शुरु गरेका श्रेष्ठसँग पुलिस क्लबको पछिल्लो सफलताबारे हामीले सोध्यौः जीत कसरी सम्भव भयो?
टिम बन्नका लागि चाहिने खेलाडी, कोच र व्यवस्थापनबीच समन्वयका मामिलामा अरूको तुलनामा पुलिसको राम्रो भएकाले पनि यो सफलता पाइएको हो।
कुन-कुन पक्षमा विशेष ध्यान दिनुभयो? कोचले ध्यान केन्द्रित गर्ने भनेको खेलाडीहरूको स्किल र स्वभावमा हो। पुलिस टिममा नयाँ र पुराना तथा अनुभवीसँगै आक्रामक स्वभावका छरिता खेलाडीहरू पनि छन्। मैदानमा विपक्षीलाई समय र ठाउँ नदिनु नै फूटबलको मुख्य सूत्र हो। आक्रामक स्वभाव भयो भने त्यो सूत्र लागू गर्न सजिलो हुन्छ। तर त्यसका लागि अभ्यास पनि चाहिन्छ।
राम्रो नतिजाका लागि कस्ता रणनीति आवश्यक पर्छन्? गल्ती कम गर्ने र विपक्षीको गल्तीको फाइदा लिँदै अवसरको सदुपयोग गर्ने। त्यसका लागि खेलाडीहरूको खुबी पहिल्याउनै पर्छ। बल त एउटा हुन्छ, बुद्धि हुनेले नै त्यो खेलाउने हो। खेल्दा आफ्नो मात्र होइन, बाँकी २१ खेलाडीको दिमागलाई पनि ध्यान दिनुपर्छ। मैदानभित्र विपक्षीको खेल र रणनीति बुझ्ेर त्यहीअनुरुप रणनीति बनाउनुपर्छ।
विगतका लिगभन्दा सहज जीत कसरी सम्भव भयो?
पुलिसका खेलाडीमा मैदानभित्रै विपक्षीको रणनीति बुझ्ेर खेल्न सक्ने सीप छ। हामीमाथि दबाब थियो, साबिक विजेताको रूपमा। त्यसमाथि जुमानु राई र चेतन घिमिरे जस्ता खेलाडी घाइते थिए। त्यसका बाबजुद नयाँ खेलाडीहरूले पनि डटेर खेले। हाम्रो जस्तो अवस्था अरूको भएको भए उनीहरूको अवस्था बिजोग हुन्थ्यो।
यो लिगमा फूटबलको स्तर खस्कँदै गएको देखियो नि? खेलाडी जन्माउने र स्तर उठाउने लिगबाटै हो। लिगका लागि १५-२० दिन खेलेर मात्र पुग्दैन। खुलेर खेल्ने वातावरण बनाउनेतर्फ सरकार र सम्बन्धित संघले सोच्नुपर्दछ। र, सोहीअनुरुप नीति बनाउनुपर्छ। प्रशिक्षकहरूको स्तर सुधार्नुपर्छ, नेपाली प्रशिक्षकले नसके विदेशी ल्याउने गरिको प्रभावकारी दीर्घकालीन योजना ल्याउनुपर्छ।

No comments:

Post a Comment