Friday, December 28, 2012

खाने होइन, चलाउने ट्याब्लेट

अंक: 436, Nepal Weekly



२५ फागुनमा पोखरा जान एयरपोर्ट पुगेका लक्ष्मी हुन्डाई समूहका प्रबन्ध-निर्देशक निराकार श्रेष्ठसँग साथमा हवाई टिकट थिएन, न त 'ई-टिकट'को पि्रन्ट नै। उनीसँग ग्यालेक्सी ट्याब्लेटको इमेल बक्समा ई-टिकटको 'भर्चुअल कपी' मात्र थियो। उनी त्यही ट्याब्लेट बोकेर एयरपोर्ट पुगेका थिए। त्यहाँ उनले त्यही ट्याब्लेटमा ई-टिकट देखाइदिए र सहजै पोखराका लागि उडे। न कुनै कागजपत्र बोक्ने झन्झट, न त कुनै अन्योल !

श्रेष्ठको साथमा रहेको त्यो ट्याब्लेट बिरामीले खाने ट्याब्लेट भने थिएन। तर, उपयोगिताका हिसाबले भने कम महत्त्वको छैन यस्तो ट्याब्लेट पीसी अर्थात् व्यक्तिगत कम्प्युटर। सूचनाप्रविधिका क्षेत्रमा भइरहेका नयाँनयाँ विकासक्रममा जन्मेको कान्छो तर महत्त्वपूर्ण उपकरण हो, ट्याब्लेट पीसी। यसअघिका स्मार्ट फोन, आईफोनजस्ता उपकरणले पनि कम्प्युटर र फोनसरहकै काम गरे पनि धेरै कोणबाट आधुनिक र भिन्न छन् विभिन्न ब्रान्डका ट्याब्लेट।

यस्ता ट्याब्लेट प्रयोगकर्ताहरू नेपालमा पनि बढ्दै छन्। नेपालमा सूचनाप्रविधि नजानिँदो किसिमले विस्तार हुँदै गएको देखिन्छ। श्रेष्ठ ट्राफिक जाममा परेका बेलासमेत गाडीभित्र बसेर एकछिनमा आफ्नो इनबक्समा भएका इमेल हेर्न र प्रतिउत्तर लेख्न भ्याउँछन्। उनले बोक्ने ग्यालेक्सी ट्याब्लेटले उनलाई डायरी र ल्यापटप झन्झटबाट मुक्ति दिएको छ। त्यसैगरी, 'एक्सल'का ठूल्ठूला फाइल पनि सहजै पढ्न पनि सम्भव बनाएको छ, यसले उनलाई। अटोमोबाइल क्षेत्रसम्बद्ध भएको हुँदा विश्व अटो बजारमा भइरहेका विकाससँग पनि परििचत गराउन सहयोगी भूमिका निर्वाह गरेको छ ट्याब्लेटले उनलाई।

आईटी कम्पनीहरूले अपार्टमेन्टहरूका लागि उपयोगी हुने ट्याब्लेटका लागि 'आई-होमप्याड प्रोगाम' पनि विकास गरसिकेका छन्। ट्याब्लेटको प्रयोग गर्दै रमिोटबाट अपार्टमेन्टमा रहेका टीभी, पर्दा, ढोका, एसी, बत्ती र अन्य इलेक्ट्रोनिक्स उपकरण पनि प्रयोग गर्न सम्भव बनेको छ। फोटोग्राफरले आफूले खिचेका तस्िबर देखाउन, फर्निचर पसलले आफ्ना डिजाइन देखाउन, डिजिटल पुस्तक-पत्रिका पढ्न, गेम खेल्न, इन्टरनेट चलाउन, फोन गर्नजस्ता अनेकन सुविधा यी ट्याब्लेटमा थपिँदै गएका छन्। सेमिनार र गोष्ठीमा प्रोजेक्टरको सहायताले प्रस्तुति दिन पनि सम्भव बनाएको छ, ट्याब्लेटले।

माइक्रोसफ्ट कम्पनीले एक दशकअघि नै विद्युतीय 'पेन'बाट चल्ने ट्याब्लेट पीसी बजारमा ल्याए पनि अहिलेको जस्तो सहज र व्यवहारमैत्री थिएन। अहिले सहजै घुमाउन सकिने, वायरलेस एडप्टर, टचस्िक्रन, अफिस सुट, हातले लेख्न सकिने नयाँ उपकरण नै ट्याब्लेटका रूपमा अगाडि आएका छन्। गत वर्ष एप्पल कम्पनीले सार्वजनिक गरेको आईप्याडले त ट्याब्लेट कम्प्युटरको बजारमा क्रान्ति नै ल्याएको मान्न सकिन्छ। त्यसयता नयाँनयाँ सुविधासम्पन्न ट्याब्लेट मोडल बनाउने प्रतिस्पर्धा मात्र बढेको छैन, ती कम्प्युटरमा प्रयोग गरनिे 'अपरेटिङ् सिस्टम' -ओस) र 'अप्लेकेसन'को विकासमा पनि होड चलेको छ। अहिले मुख्य गरी आईप्याड र गुगलको एन्ड्रोएड ओस चल्तीमा रहेका छन्।

स्वाइप, स्लाइड, ट्याप, पिन्च, जुमलगायतका अनेकन सुविधा भएका ट्याब्लेट व्यस्त सहरी जीवन र सूचनाप्रविधिसँग रौसिनेहरूका लागि गुणकारी र उपयोगी बन्दै गएका छन् । कतिपयले ट्याब्लेट प्रयोग गर्न थालेपछि आफ्ना ल्यापटपहरूको प्रयोजन नै घट्दै गएको समेत अनुभव गरेका छन्। विद्यालय तथा क्याम्पस शिक्षण वा दूरशिक्षा प्रणालीमा समेत ट्याब्लेट प्रयोग बढ्दै गएको छ। छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीका केही रेस्टुराँमा त आईप्याड मेनु नै सुरु भइसकेको छ, जसबाट खाना र खाजा खान रेस्टुराँ पुग्ने ग्राहकले आफू बसेको टेबुलमा राखिएका आईप्याड ट्याब्लेटलाई छुँदै आफूले चाहेको खानेकुरा माग गर्न पाउनेछन्।

अधिकांश ट्याब्लेट कम्प्युटरमा आईप्याड र एन्ड्रोइड प्लेटर्फम प्रयोग गरएिको पाइन्छ। आईप्याड प्लेटर्फम भएका ट्याब्लेटमा फि्लपबोर्ड म्यागजिन, डिजिटल पुस्तकहरू डाउन गर्न मिल्ने किन्डल, गुगल मोबाइल र एङ्ग्री बर्ड्सजस्ता आकर्षक खेल पनि खेल्न सकिन्छ। त्यसैगरी एन्ड्रोइड प्लेटर्फम जडित ट्याब्लेटमा गुगल भ्वाइस, बारकोड स्क्यानरजस्ता सुविधा रहेका छन्। यस्ता ट्याब्लेटको तौल आधा किलोभन्दा कम हुन्छ।

सूचनाप्रविधि क्षेत्रमा अध्ययन गर्ने एक कम्पनी गार्टनरले सन् २०११ मा ५ करोड ४८ लाख गोटा ट्याब्लेट कम्प्युटर बिक्री हुने अनुमान गरेको छ। गत वर्ष करबि दुई करोड बिक्री भएका र सन् २०१४ सम्ममा उक्त आँकडा २० करोड ८ लाखसम्म पुग्ने उक्त कम्पनीले अनुमान छ। विश्वमै बढ्दै गएको कम्प्युटर प्रयोगको यस्तो आकर्षणको बाछिटा नेपालमा पनि स्वाभाविक रूपमा पर्छ, पररिहेको छ। सामान्यतः ५० हजार रुपियाँ र त्यसभन्दा बढी मूल्य पर्ने भए पनि विद्यार्थी, कलाकार, साहित्यकार, व्यावसायिक, उद्यमी सबैलाई लोभ्याउने प्रयास गर्दै यी आधुनिक ट्याब्लेटले। त्यसैमध्येका एक हुन्, वरष्िठ साहित्यकार कमलमणि दीक्षित। उनले प्रयोग गर्ने गरेको आईप्याड दुई महिनाअघि बर्माबाट र्फकंदा बैँककमा किनेका हुन्। उनी भन्छन्, "बर्मामा रहँदा म बसेको घरकी बूढी हजुरआमाले सकीनसकी आईप्याड चलाएको देखेर मलाई पनि आईप्याड किन्ने रहर जागेर आयो।" यस आकर्षक यन्त्रमा भएका सुविधाहरूको भरपूर उपयोग गर्नेभन्दा पनि उनले चाहिएका तस्िबर, ईबुक र आफूले खोजेका साहित्यकारहरूका बारेमा केही खोज्नका लागि आईप्याड प्रयोग गर्ने गरेका छन्, ८२ वषर्ीय दीक्षितले। भन्छन्, "आईप्याड चलाउँदै टीभी हेर्दाको मज्जा नै बेग्लै।" आईप्याड हात परेपछि दीक्षितलाई मदन पुरस्कार पुस्तकालयमा संग्रहित तीन हजार तस्िबर पनि इन्टरनेटबाट आईप्याडमै हेर्न सम्भव भएको छ। भन्छन्, "यो त कल्पनाभन्दा परको विकास हो। यो प्रविधिले हामीलाई समयसँग हिँड्नुपर्छ भन्ने सन्देश पनि दिएको छ।" मदन पुरस्कार पुस्तकालयमा हालसम्म दर्ता भएका २९ हजार ६ सय ९२ पुस्तकमध्ये आफैँले ढड्डामा लेखेर १९ हजार १ सय २४ पुस्तकको दर्ता दीक्षित आफँैले गरेका छन्। तर, अब आईप्याडको प्रयोगले उनका लागि आगामी दिनमा पुस्तक दर्ता गर्न पनि सहज हुने पक्का छ। भन्छन्, "गत साता लन्डन जाँदा यही आईप्याडमा गुगल म्यापको शयर गर्दा कति आनन्द। आफू बसेको सहरको विभिन्न ठाउँको दिशा र दूरी सजिलै थाहा पाउँदा प्रविधिलाई धन्यवाद नै दिएँ मैले त।"

युवा फोटोग्राफर किशोर कायस्थ एप्पलका कुनै पनि उत्पादन भनेपछि हुरुक्कै हुन्छन्। उनले अहिले चलाइरहेको आईप्याड पनि बजार आएको एक महिनाभित्रै विदेशबाट मगाएका हुन्। सात वषर्ीय छोरा मानवले उक्त आईप्याडमा गेम खेल्छन् भने किशोरचाहिँ आफ्ना ग्राहकका लागि प्रयोग गर्छन्। आईप्याडमा इन्टरनेट खोजी सहज हुन्छ। उत्कृष्ट रंग र गुणस्तरीय तस्िबर देखिनाले किशोरलाई आफूले खिचेका तस्िबरहरू आफ्ना ग्राहकलाई देखाउन पनि यसले सहज बनाएको छ। भन्छन्, "फोटो देखाउँदा नै एल्बम पल्टाएर देखाएजस्तो। यसभन्दा सजिलो कुनै माध्यम हुनै सक्दैन।"

अभिनेत्री तथा मोडल उषा रजक भन्छिन्, "म त किताबको कीरो नै ठान्छु आफूलाई। इन्टरनेटमा राखिएका पुस्तक पढ्न आईप्याडजस्तो सजिलो कुनै पनि हुँदैन। फिल्म हेर्न पनि त्यत्तिकै सहज।" रजकलाई विशेष गरी यसको आकर्षक पक्ष भनेको बोक्न सजिलो र सानो भिर्ने झोलामा पनि राख्न सकिने भन्ने लाग्छ। उनी पनि एप्पलको 'क्रेजी' रहिछन्। करबि एक वर्षअघि श्रीमान्ले आईप्याड किनेदेखि नै उनलाई यस उपकरणले मोहनी लगाएको छ। त्यसमा देखिने सफा र आकर्षक तस्िबरहरूले पनि उनलाई मुग्ध पारेको छ। भन्छिन्, "यसलाई उपयोग गर्न जान्नुपर्छ। गज्जब हुँदोरहेछ।"

अहिले दैनिक १० वटाका हिसाबले महिनामा तीन सय ट्याब्लेट पीसीको बिक्री भइरहेको व्यवसायीहरू बताउँछन्। नेपाली बजारमा एप्पलको आईप्याड, सामसुङ्को ग्यालेक्सी, ओलिभ प्याड, प्रोलिंक टी ८, जेटीई लाइटसहित दर्जनौँ ट्याब्लेट पीसी उपलब्ध छन्। बिक्रीका हिसाबले ट्याब्लेटप्रति बैँकर्स, उद्यमी र कर्पोरेट हाउसहरूको बढी नै आकर्षण रहेको देखिन्छ। आईप्याडका प्रयोगकर्ता बढे पनि सिंगापुरस्िथत एप्पलको क्षेत्रीय कार्यालयले अझैसम्म आईप्याडका लागि नेपालमा कसैलाई पनि अधिकृत बिक्रेता तोकेको छैन। सामसुङ् ग्यालेक्सी आईप्याडको नेपालका लागि अधिकृत बिक्रेता इन्टरनेसनल मार्केटिङ् सर्भिसेज प्रालि रहेको छ भने ओलिभ प्याडका लागि अधिकृत बिक्रेता मल्ली ब्रदर्स रहेको छ। त्यसैगरी, प्रोलिंकको भने एसएचटीसी इन्टरनेसनल रहेको छ।

नेपालको सहरी जनजीवनमा ट्याब्लेट पीसीको बढ्दो आकर्षणले सूचनाप्रविधिप्रति नेपालीको चासो र लगावको संकेत गर्छ। अहिलेसम्म अलिक सम्भ्रान्त र सम्पन्न व्यक्तिको पहुँचमा भए पनि यसको उपयोगिताले आगामी दिनमा सबै वर्गलाई आकषिर्त गर्ने निश्चित छ।

No comments:

Post a Comment