Friday, December 28, 2012

चम्क्यो बर्दिया

himalkhabarpatrika

निकुञ्जभित्रका होटल-रिसोर्ट विवादले चितवनमा सिर्जना गरेको अन्योल र अनिश्चितताको फाइदा बर्दिया, ठाकुरद्वाराका होटल-रिसोर्टले उठाउँदै छन्।

सुरेशराज न्यौपाने
ठाकुरद्वारास्थित टाइगर टप्स्मा अमेरिकी दम्पती जेवाई र न्यान्सी फ्राइड
राजस्व तथा संरक्षण शुल्क विवाद, निकुञ्जभित्र एवं बाहिरका होटल सञ्चालकहरूको मुद्दा र निकुञ्ज क्षेत्रभित्र होटल-रिसोर्ट सञ्चालन गर्न दिँदा संरक्षणमा पर्न सक्ने प्रभावबारे बहसले चार महिनादेखि प्रभावित देशको एउटा प्रमुख पर्यटकीय केन्द्र, चितवन राष्ट्रिय निकुञ्जको समस्या कसरी टुङ्गिन्छ अनिश्चित नै छ। यो विवाद र अन्योलको फाइदा त्यहाँबाट करिब ४५० किलोमिटर पश्चिम, बर्दिया राष्ट्रिय निकुञ्जलाई पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राजस्व र संरक्षण शुल्क समयमा भुक्तानी नगरेको भन्दै गएको असार मसान्तदेखि बन्द गरेका चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालित टाइगर टप्स, गैँडा वाइल्डलाइफलगायत केही होटल-रिसोर्टहरू अझ्ै सञ्चालनमा आएका छैनन्। यस घटनाक्रमसँगै चितवनको सौराहा, त्यस वरपरका पर्यटकीय गन्तव्य र पूरै जिल्ला समेत प्रभावित हुने गरी भइरहेका कहिले बन्द होटल-रिसोर्टका मजदुरहरूको आन्दोलन त कहिले मालिकहरूको विरोध, कहिले सौराहाका पर्यटन व्यवसायीहरूको निकुञ्जभित्र केही खासलाई मात्र होइन प्रतिस्पर्धाका आधारमा सबैलाई होटल-रिसोर्ट खोल्न दिनुपर्छ भन्ने माग त कहिले संरक्षणवादीहरूको निकुञ्जभित्र होटल-रिसोर्ट खोल्न दिनैहुन्न भन्ने आवाजले चितवनको पर्यटन वातावरण सिजनको मध्यमा आइपुग्दा पनि सङ्लिन सकेको छैन। यही मौकाको फाइदा उठाउँदै जङ्गल र वन्यजन्तु पर्यटनको अर्को आकर्षक विकल्पका रूपमा बर्दिया निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ।
जङ्गल भ्रमण, बाघ, गैँडा र वनहात्तीको अवलोकन, जङ्गल सफारीका अतिरिक्त कर्णाली नदीको ह्वाइट वाटर र्‍याफ्िटङ, कर्णाली तटीय क्षेत्रको घुमफिर, फिसिङका लागि आकर्षक गन्तव्य हो― बर्दिया राष्ट्रिय निकुञ्ज। तर सौराहाभन्दा टाढा र विभिन्न पूर्वाधार एवं सुविधाको कमीले यो गन्तव्य पर्यटक र व्यवसायीहरूको रोजाइमा त्यति पर्ने गरेको थिएन। सामान्यतया असोजदेखि जेठको समयलाई पर्यटकीय सिजन मानिने बर्दिया निकुञ्जमा त्यही समयमा हुने चहलपहल यसपालि भदौदेखि नै बढेको थियो। निकुञ्जको मूलद्वार ठाकुरद्वारास्थित टाइगर टप्स, कर्णाली जङ्गल लज एण्ड टेण्टेड क्याम्प, बर्दिया राइनो लज, फरेष्ट हाइड अवे होटल एण्ड कटेजलगायतका होटलले अहिले उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याइरहेका छन्।
चितवनका कतिपय बन्द होटल-रिसोर्टले पनि आफ्ना पाहुनालाई बर्दिया पुर्‍याएका छन्। टाइगर टप्सले पाहुनालाई मात्र होइन चितवनका केही कर्मचारीलाई समेत बर्दिया, ठाकुरद्वाराको टाइगर टप्स कर्णाली जङ्गल लजमा लगेको छ। लजका प्रबन्धक गौरी मालाकार हालसम्म चितवनबाट दुई सय पर्यटक आफूकहाँ आइसकेको जानकारी दिँदै भन्छिन्, “व्यक्तिगत रूपमा आउने पर्यटकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्ष यो समयमा ४०-५० प्रतिशत कोठा मात्रै भरिन्थे, यसपालि सबै प्याक भइसके।” बर्दिया राष्ट्रिय निकुञ्जसँगै वरपरका करिब एक दर्जन होटलले अहिले राम्रो कारोबार गरिरहेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा र १९ वटा बाघ भएको अनुमान छ। वन्यजन्तु अवलोकनका लागि चितवनपछि दोस्रो रोजाइमा पर्ने गरेको यो निकुञ्जमा २०५७ सालसम्म विदेशी र स्वदेशी पाहुनाहरूको आगमन राम्रै थियो। तर मावादीको हिंसात्मक द्वन्द्व चर्कंदै गएपछि कतिपय होटल-रिसोर्ट बन्द भए र केही बन्दको सँघारमा पुगे भने शान्तिप्रक्रियापछि मन्दगतिमै भए पनि पुनः सञ्चालन हुन थालेका छन्। व्यवसायीहरू शान्तिप्रक्रियासँगै पर्यटकहरू आउने क्रम बढेको बताउँछन्। निकुञ्जको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०६५/६६ को पहिलो तीन महिनामा ३५० पर्यटक बर्दिया आएका थिए भने चालु आवको सोही अवधिमा ५०० नाघेको छ। धेरैजसो बेलायती र अमेरिकी पर्यटक छन्।


सहायक संरक्षण अधिकृत रमेश थापा
बर्दिया निकुञ्ज वरपर होटल-रिसोर्टहरूको विस्तार र नयाँ खोल्ने क्रमले पनि आशा जगाएको छ। पर्यटक आगमनमा भएको वृद्धिलाई ध्यानमा राखेर होटल-रिसोर्टहरूले कोठा थप्ने, क्षमता बढाउने काम गरिरहेका छन्। जङ्गल सफारीको आनन्द लिन बर्दिया पुगेका अमेरिकी दम्पती जेवाई र न्यान्सी फ्राइड हात्तीमा सवार भएर जङ्गल भ्रमणमा निस्कन तथा गैँडा हेर्न पाउँदा निकै दङ्ग देखिन्थे। फ्राइडले भने, “कल्पनै नगरेको आनन्द मिल्यो। हात्तीमा चढेर जता पनि जान पाइने, नजिकैबाट गैँडा देखिने― सधैँ आइरहँु जस्तो लाग्ने ठाउँ रहेछ यो।” टाइगर टप्सकी प्रबन्धक मालाकार पनि चितवन छाडेर बर्दिया आएका पर्यटकहरूले यो गन्तव्य र यहाँको सेवासुविधा मन पराएको बताउँछिन्। निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापा अहिले चितवनको कारणले पर्यटक सङ्ख्या केही बढेको देखिए पनि यसमा बर्दिया निकुञ्जको आफ्नै पहिचानले पनि काम गरेको बताउँछन्। उनी भन्छन्, “एकपटक आइसकेका पर्यटकहरू बर्दियामा दोहोर्‍याएर आउँछन्। किनभने यहाँ चितवनमा जस्तो भीडभाड छैन र उनीहरूले साँच्चिकै जङ्गली वातावरण महसुस गर्न पाउँछन्।” अहिलेको चहलपहलले केही आशा जगाए पनि सरकार र पर्यटन बोर्डको उपेक्षासँगै बन्द-हड्तालका समस्याको सिकार बनेको बर्दियालाई २०५७ सालअघिकै अवस्थामा फर्कन तथा चितवनजत्तिकै आकर्षक गन्तव्य बन्न लामो समय लाग्न सक्छ। फरेष्ट हाइड अवे होटल एण्ड कटेजका प्रबन्ध निर्देशक मोहन अर्याल केही सुधार देखिए पनि अपेक्षा गरिए जति पर्यटक आगमन नहुनुमा पूर्वाधारको समस्यालाई जिम्मेवार ठान्छन्। उनी भन्छन्, “बिजुली र टेलिफोन सेवा नियमित छैन, सीधा यातायात छैन। काठमाडौं र पोखराबाट बर्दिया जाने पर्यटक बसहरूको अभाव यो गन्तव्यको प्रवर्द्धन हुन नसक्नुको एउटा प्रमुख कारण हो। निकुञ्जमा पर्याप्त हात्ती नभएकाले चाहेका बेला पर्यटकहरू जङ्गल सफारीमा जान पाएका छैनन्।”

No comments:

Post a Comment