Friday, December 28, 2012

नेपालीपनको पर्याय राष्ट्रिय झण्डा

हिमाल खबरपत्रिका issue २६२

रातो र चन्द्र-सूर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरी यो, बल्दो यो शान हाम्रो,
यो जन्मँदै जगतमा, कैयौं प्रहार आए
साम्राज्य दुई हारे, हारेन शान हाम्रो ...
कवि गोपालप्रसाद रिमालका यी पङ्क्ति नेपाली राष्ट्रिय झण्डाको गरिमा दर्शाउन पर्याप्त छन्। करिब ६ दशकअघि उनले बयान गरेको राष्ट्रिय झण्डा र त्यसले बनाएको नेपाली छवि आजपर्यन्त कायम छ। गएको माघमा बङ्गलादेशमा सम्पन्न ११ औं दक्षिण एशियाली खेलकुद (साग) मा व्यक्तिगत चार स्वर्ण पदकको कीर्तिमानका साथ तेक्वान्दो स्टार दीपक विष्टले यो झण्डा उठाउँदा नेपाली गरिमा फहराएको थियो। ढाकामै अध्ययनरत नेपाली विद्यार्थीहरू चन्द्र-सूर्य अङ्कित झण्डा फहराउँदै खेलमैदानमा पस्दा नेपाली भावना छचल्किएको थियो।
विश्वका थुप्रै मुलुकमा उच्च नेपाली शानका साथ अनेक पटक फहराइएको राष्ट्रिय झण्डाको महत्व र गरिमालाई देशभित्र चाहिँ औपचारिकतामा सीमित गरिएको छ। मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबार र त्यस मातहतका अड्डामा ठड्याइने राष्ट्रिय झण्डाको प्रयोगबारे स्पष्ट नीति नहुनुले पनि उदासीनताको हद दर्साउँछ। झण्डाबारे ८ वैशाख २०४९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्को राष्ट्रिय झण्डा प्रयोग गर्ने र बनाउने नीतिलाई मुलुक गणतन्त्र भएको यत्रो समय बितिसक्दा पनि अद्यावधिक गरिएको छैन।
राष्ट्रिय प्रतीकको बिजोग
चन्द्र-सूर्य अङ्कित झण्डाले अहिलेको आकार-स्वरुप र राष्ट्रिय चिन्हको मान्यता २०१९ सालमा पाए पनि यसको उद्भवगाथा लामो छ। ऐतिहासिक अभिलेखहरूले लिच्छविकालमै यो अस्तित्वमा आएको देखाउँछन्। शुरुमा ध्वजाको रूपमा प्रयोग भएको यो झण्डा नेपाल निर्माणसँगै आजको स्वरुपमा आइपुगेको हो। यसले अन्तर्राष्ट्रिय पहिचान स्थापित गरेको २९ मे १९५३ मा तेञ्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथामा यसलाई फहराएपछि हो। त्यसपछि २५ पुस २०२१ देखि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा फहराउन थाल्यो।
हिजोआज नेपालको यो राष्ट्रिय चिन्हको मानमर्दन गर्ने होड पनि चलेको छ। गएको १४ फागुनमा कीर्तिपुरको क्रिकेट मैदानमा राष्ट्रिय ध्वजाको लिनसम्म हुर्मत लिइयो। विश्वकप आईसीसी क्रिकेट डिभिजन-५ को सेमिफाइनल खेलमा नेपाली टिम अमेरिकासँग हार्ने अवस्था आएपछि हातहातमा राष्ट्रिय झण्डा बोकेका केही उद्दण्ड राष्ट्रवादी दर्शकहरूले हुटिङ गर्दै खेलमैदानमा ढुङ्गामुढा गरे। उनीहरूको यस्तो व्यवहारले सारा नेपालीलाई लज्जित बनायो। अन्तर्राष्ट्रियजगतमा नेपालको छवि समेत धुमिल भयो।
राष्ट्रिय झण्डाको सबभन्दा धेरै हुर्मत मण्डलेहरूले लिएका छन्, पञ्चायतकालदेखि नै। प्रजान्त्रवादीहरूको जुलुसमा हमला गर्न पनि राष्ट्रिय झण्डा बोकेर जाने उनीहरूको क्रियाकलापले हुनसक्छ, राजनीतिक दलहरूको मनोविज्ञानमा राष्ट्रिय झण्डाप्रति निरपेक्ष भावनाको विकास भएको देखिन्छ। अझ् भनौं, पार्टीको कार्यक्रममा यो झण्डा प्रयोग गर्दा मण्डले जस्तै भइन्छ वा विवादमा परिन्छ भन्ने छ। अहिले पनि पार्टीका हजारौं झण्डा राखेर गरिने प्रमुख राजनीतिक दलहरूको कार्यक्रममा एउटा राष्ट्रिय झण्डा हुँदैन। राजतन्त्र र धर्मनिरपेक्षताबारे संविधानले गरेको व्यवस्था नमान्ने राजावादीहरूले पनि राष्ट्रिय झण्डाको प्रयोग बढाएका छन्। सयौं नेपालीको शहादतबाट आएको संविधानको विरोध गर्न राष्ट्रिय झण्डाकै प्रयोग हुन्छ। राजावादीहरूले सडक किनार र गल्लीमा गर्ने सा-साना कार्यक्रमहरूमा सहभागीभन्दा धेरै राष्ट्रिय झण्डा देखिन्छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा भन्छन्, “झण्डालाई सत्तासँग नजोडी सम्पूर्ण जनताले प्रयोग गर्न पाउनुपर्छ, गलत प्रयोग र अपमान गर्नु चाहिँ हुँदैन।”
राष्ट्रिय झण्डाको यत्रो दुरुपयोग भइरहँदा त्यसलाई नियन्त्रण गर्नुपर्ने सरकारी संयन्त्रहरू मौन छन्। २०४९ सालको नीतिअनुसार अधिकारवाला व्यक्ति र कार्यालय बाहेक अन्यले राष्ट्रिय झण्डा प्रयोग गर्न पाउँदैनन्। तर, पूर्व पञ्च र राजावादी पार्टीहरूलाई मात्र होइन, समाजका अन्य पक्षलाई पनि यो नियमले रोकेको देखिँदैन। नेपालका हरेकजसो विद्यालयले राष्ट्रिय झण्डा फहराएको देखिन्छ। प्रधानाध्यापकको टेबुल, होटल र घरका कोठामा पनि यो झण्डाको प्रतिरुप सजाएर राखिएका हुन्छन्। हुँदाहुँदा पार्क र सार्वजनिक गाडीमा पनि लथालिङ्ग तालले राष्ट्रिय झण्डा राख्ने चलन चलेको देखिन्छ।
आधिकारिक रूपमा सरकारी भवनमा फहराइएका झण्डा चाहिँ कुनै सद्दे अवस्थामा देखिँदैनन्। च्यातिएका वा खुइलिएका ती झण्डामा एकरुपता पनि भेटिँदैन। कार्यान्वयन नै नभएको सरकारी नीति केही कुरामा चाहिँ कति कडा छ भने राष्ट्रिय झण्डालाई सूर्योदय भएको ठीक पाँच मिनेटमा फहराउनु र सूर्यास्त हुनुभन्दा दुई मिनेट अगावै झ्िकिसक्नुपर्छ। हरेक वर्ष बडादशैं र चैतेदशैंका दिन झण्डा फेर्नुपर्छ। राष्ट्रिय झण्डाको हविगतमाथि विचार पुर्‍याउने जिम्मेवारी पाएको निकाय गृह मन्त्रालय हो। तर, गृह प्रवक्ता जयमुकुन्द खनाल सीधै भन्छन्, “राजनीतिक अन्योल र सरकारको प्राथमिकतामा नपरेकाले यस्तो भएको हो।”

No comments:

Post a Comment