Friday, December 28, 2012

सिन्काबाट समृद्वि

बारा, पर्सा, रौतहट र सर्लाहीका विपन्न परिवारको जीवन अगरबत्तीले उज्यालो पार्दैछ। 

सुरेशराज न्यौपाने र नवीन झा
Himalkhabarpatrika, वर्ष २०, अङ्क १४ पूर्णाङ्क २७
 
वीरगञ्जस्थित नारायणी अगरबत्ती उद्योगमा अगरबत्ती प्याक गर्दै रेखा कर्ण।
एक वर्षअघि बितेका श्रीमानको औषधी मुलोमा लागेको करिब रु.९० हजार ऋणले बारा, नकटुवाकी वेदामीदेवी मुखिया (५०)को जग्गाजमिन झ्ण्डै-झ्ण्डै गइसकेको थियो। तर, अगरबत्ती (सिन्केधूप) बनाउन चाहिने बाँसको सिन्का बेचेर साहु-महाजनबाट आफ्नो जग्गा जोगाएकी उनी अहिले उद्यमी बनेकी छन्। दुई छोरा र एक छोरीमध्ये कान्छो छोरालाई स्कूल पठाउन थालेकी वेदामी भन्छिन्, “घरखर्च चलाएर एक वर्षमा कर्जा सिध्याउन लागेकी छु।”
उता, वीरगञ्ज उमनपा-१७ पिपरा, चमारबस्तीकी लालपरी देवी घरको कामकाजपछि ५-६ केजी सिन्कामा काउलोको धूलो र कोइला मिसिएको अगरबत्तीको लेप लगाएर प्रतिकेजी रु.१८ रुपैयाँमा ठेकेदारलाई बेच्छिन्। तीन छोरी र पाँच छोराकी आमा लालपरीले पाउने ज्याला तीन वर्षदेखि जतिको त्यति छ, तैपनि उनी र कारखाना मजदुर श्रीमान दुवैको आम्दानीले परिवारलाई ठूलो सहयोग पुगेको छ, सन्तान स्कूल जान पाएका छन्, ब्याङ्कबाट ऋण लिएर घर बनाउने आँट आएको छ। पूजाकोठामा भगवानलाई चल्ने अगरबत्ती बनाउने मानिसलाई अछूत ठहर्‍याउने तथाकथित ठूला जातिको व्यवहारबाट आजित लालपरी भन्छिन्, “त्यही भएर आफ्ना सन्तानलाई जसरी पनि पढाउने विचार गरेकी हुँ।”
देशकै ठूलो औद्योगिक-व्यापारिक शहर वीरगञ्ज रहेको पर्साका गाउँहरू एक दशकअघिसम्म मानव विकास सूचकाङ्कमा हुम्ला-जुम्लाभन्दा पछाडि थिए। तर, अहिले आएको लघुउद्यमको लहरले विस्तारै विकास र समृद्धिको बाटो खोलेेको छ। यस क्षेत्रका सयौं घरेलु तथा साना उद्योगमा पाँच हजारभन्दा बढीले रोजगारी पाएका छन्। छिमेकी बारा, रौतहट र सर्लाही पनि पर्सालाई पछ्याउँदै छन्। गाउँ-देहातका घर-घरमा खुलेका धूप र वरफको सिन्का, टाँक, घरेलु कपडा, प्लाष्टिकको दाना बनाउने उद्यमले महिलाहरूलाई रोजगारी र आम्दानीको अवसर उपलब्ध गराएको छ।

सिन्कामा अगरबत्तीको मसाला लेप लगाउँदै लालपरी देवी (दायाँ)।
वीरगञ्ज, मुरली गाउँका सायरा खातुनलगायत अगरबत्ती बनाउने काममा लागेका ५० भन्दा बढी मुस्लिम महिला घरखर्चमा आत्मनिर्भर छन्। यो कामबाट आफ्नो रहरको चिजबिच किन्न श्रीमानकै मुख ताक्नुपर्ने अवस्था हटेको सरिमाया खातुन बताउँछिन्। महिलाका हातमा पैसा पर्दा उनीहरू सशक्त भएको, विद्यालय जाने बालबालिकाको सङ्ख्या बढेको र गाउँको सरसफाई स्थितिमा सुधार भएको प्रस्टै देख्न सकिन्छ।
बाँसका सिन्का बनाएर लाभान्वित हुनेमा बाराका मरवलिया र नकटुवा गाविसका विन समुदाय पनि पछाडि छैनन्। माछा मारेर जीविकोपार्जन गर्दै आएको यो समुदायका करिब २५ घरमा १५० जनाले सिन्का बनाउँछन्। दिनमै ३५ केजीसम्म सिन्का बनाउने दुई सन्तानकी आमा परमशिला देवी विन (मुखिया)को परिवार यसबाट दैनिक रु.५०० कमाउँछ। सिन्का बनाएर रघुनाथ मुखियाको परिवारले रु.५१ हजारमा १० धुर घडेरी किनेको छ। रघुनाथ भन्छन्, “मजदुरी गर्दा दिनको २०० पाउने हो, अहिले घरमै बसेर ५००-६०० कमाउन सकिन्छ।”
अगरबत्ती उद्योगहरू रौतहट र सर्लाहीका गाउँमा पनि फैलिएका छन्। सर्लाही, जमुनीबासकी मनमाया भुजेल दिनहुँ औसत १५ केजी र सरिता भण्डारी तथा उनका बुहारीहरू ३० केजीसम्म सिन्का तयार पार्छन्। सरिता भण्डारी टिभी हेरेर वा सुतेर समय बिताउनुको साटो सिन्का बनाउँदा परिवार चलाउन सजिलो भएको बताउँछिन्। जमुनीबासकै चार सन्तानका बाबु माइतबहादुर लामा दैनिक १२ केजीसम्म सिन्का बनाउँछन्। घरघरमा गएर अरूले बनाएका सिन्काको गुणस्तर पनि जाँच्ने उनी सिन्का सङ्कलक प्रेमबहादुर महतबाट मासिक रु.५००० र कमिसन समेत पाउँछन्।

आफूले बनाएको सिन्काका साथ रघुनाथ मुखिया।
हेल्भेटास नेपालको इलम कार्यक्रमबाट ५-६ वर्षयता गाउँमा यी काम हुँदा लामो समयदेखि शिथिल वीरगञ्जका अगरबत्ती उद्योग पनि बिउँझ्ेका छन्। बाँसको सिन्का बनाउने, लेप लगाउने र बजार व्यवस्थापन गर्नेमा महिला, दलित र विपन्नहरू अघि बढेपछि छोटो समयमै प्रतिफल देखिएको हेल्भेटास नेपाल, सिमराका चन्द्रकान्त अधिकारी बताउँछन्। यस भेगको सबैभन्दा पुरानो र स्थापित नारायण अगरबत्ती उद्योगका सञ्चालक रवि गिरी भन्छन्, “पहिले सिन्कालगायत धेरै कच्चापदार्थ भारतको आसामतिरबाट आउँथ्यो, अहिले ९० प्रतिशत नेपाली नै छ। वीरगञ्ज क्षेत्र अहिले अगरबत्ती उत्पादनमा दक्षिण भारतको बैङ्गलोर जस्तै भएको छ।” सिन्का र अगरबत्ती उद्योगले बाँसको व्यावसायिक खेतीलाई पनि टेवा दिएको छ। केही वर्षअघिसम्म रु.४०-५० मा फालाफाल पाइने एक घना बाँसलाई अहिले रु.१२०-१५० पर्न थालेको छ। तयार अगरबत्ती र सिन्कालगायतका कच्चापदार्थ लिन लमजुङ, गोरखा, काठमाडौंका व्यापारीहरू वीरगञ्ज र्झ्छन्। पूजा, नारायणी, शालिमार, रोज लगायत एक दर्जन ब्राण्डका अगरबत्ती उत्पादन गर्ने नारायणीले मात्रै वार्षिक करिब रु.४ करोडको कारोबार गर्छ। सञ्चालक रवि गिरी भन्छन्, “सरकारले प्रोत्साहन र संरक्षण गर्ने नीति ल्यायो भने हामी निर्यात बढाउन सक्षम छौं।” वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष 'मप्रकाश शिकारिया अनुकूल सरकारी नीति भए यस क्षेत्रका अगरबत्ती उद्योगले अझ्ै नेपाली बजारमा आधा हिस्सा 'गटेको भारतीय उत्पादनलाई प्रतिस्थापन गर्न धेरै समय लाग्ने छैन।
मध्य तराईका गाउँगाउँमा शुरु भएको सिन्का क्रान्तिबाट सुदूरपश्चिम पनि बेखबर छैन। यस क्षेत्रमा फैलिँदो सिन्कालगायतको घरेलु उद्यमको प्रगति बुझन सुदूरपश्चिमका केही जिल्लाका स्थानीय विकास अधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी, घरेलु, नगरपालिकालगायतका संस्थाका प्रतिनिधि संलग्न २३ जनाको टोली साउनको दोस्रो साता वीरगञ्ज आएको थियो।
नेपाली अगरबत्तीले चीन, भारत र तेस्रो मुलुकमा समेत बजार बढाउँदै लगेको निर्यातको आँकडाले देखाउँछ। आर्थिक वर्ष २०६५/६६ मा रु.६ करोड ७८ लाखको अगरबत्ती निर्यात भएकोमा २०६६/६७ मा रु.९ करोड ४५ लाख पुगेको थियो। नेपाल अगरबत्ती संघका सचिव बेखानारायण श्रेष्ठका अनुसार काठमाडौंका तिब्बती व्यापारीहरूले नेपाली अगरबत्ती खासालगायतका क्षेत्रमा पुर्‍याउन थालेका छन्। तर, ५० वटा मात्र उद्योग संघमा दर्ता भएकाले अगरबत्तीको उत्पादन परिमाण र कारोबारको अनुमान गर्न गाह्रो हुने श्रेष्ठको भनाइ छ।
साथमा भूषण यादव, वीरगञ्ज

No comments:

Post a Comment